सुर्खेत, साउन २१ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतका अभ्यासबाट पाठ सिक्दै आगामी आर्थिक वर्षको बजेट निर्माणमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ।
कर्णाली प्रदेश योजना आयोगले आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले सरकारका सबै तह र निकायबिचको सहकार्यले मात्रै योजनाको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताउनुभयो । ‘प्रदेश, स्थानीय र संघीय सरकार बिचको काम जनताले एउटै आँखाले हेर्छन्, त्यसैले योजनाको छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता, समन्वय र पारदर्शिता अत्यावश्यक छ’, उहाँले भन्नुभयो ।
उहाँले प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजनसम्मको सम्पूर्ण प्रक्रियामा सुधार आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा ‘कर्णाली प्रदेश आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१’ र ‘कर्णाली प्रदेश आयोजना बैंक (कार्यसञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१’ को प्रारम्भिक मस्यौदामाथि सुझाव सङ्कलन तथा छलफल गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले सङ्कलनमुखी योजना होइन, आवश्यकता र प्रभावको मूल्याङ्कनका आधारमा योजना चयन गर्नुपर्ने धारणा राख्नुभयो। ‘सस्तो लोकप्रियता होइन, जनताको वास्तविक आवश्यकतामा आधारित योजना चाहिन्छ’, उहाँले भन्नुभयो ।
नेकपा एमालेका प्रदेशसभा सचेतक टेकराज पछाईले कार्यविधिको निर्माणले सुशासनको सङ्केत दिएको भन्दै विगतका कमजोरी सुधार गर्दै परिणाममुखी योजना निर्माणको दिशा लाग्नु पर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले कार्यविधि र मापदण्डलाई अझ स्पष्ट, सरल र कार्यान्वयनमैत्री बनाउन सुझाव दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्