जनता टाइम्स

२१ श्रावण २०८२, बुधबार ०९:३८

भटौली खोलाको पुल मर्मतपछि मन्थली–खाँडादेवी सडक पुनः सञ्चालनमा


रामेछाप, साउन २० । गएको शुक्रबार रातिको बाढीले क्षति पुर्‍याएको रामेछापको भटौली खोलाको पक्की पुल मर्मतपछि मन्थली–खाँडादेवी सडक खण्ड पुनः सञ्चालनमा आएको छ। मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को पकरबास जोड्ने यो पुल वैकल्पिक यातायात मार्गका रूपमा जिल्लामा अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

बाढीले पुलको खाँडादेवीपट्टिको पिलर कटान गरेपछि सो सडक अवरुद्ध भएको थियो। करिब चार दिनको मर्मतपछि मंगलबार अपराह्नबाट ठूला सवारीसाधनसहित यातायात पुनः सञ्चालनमा आएको हो।

खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष श्री कृष्णप्रसाद पौडेलका अनुसार पुलबाट हाल सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्। उहाँले भन्नुभयो, ‘ठूलो पानी परेमा फेरि समस्या आउन सक्ने भए पनि अहिलेलाई यातायात सञ्चालनमा आएको छ।’

पुल बन्द भएपछि खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति गाउँपालिका जाेड्ने मुख्य मार्ग तथा काठमाडौं जोड्ने वैकल्पिक मार्गसमेत प्रभावित बनेको थियो। ठूला मालवाहक गाडीहरू चार दिनसम्म खाँडादेवी गाउँपालिका–४ का विभिन्न स्थानमा रोकिएका थिए।

मन्थली नगरपालिकाका प्रवक्ता श्री गोपाल श्रेष्ठका अनुसार पुलको पिलर नजिक खोलाले कटान गरेको भागमा मर्मत गरी सडक सञ्चालनमा ल्याइएको हो। उहाँले भन्नुभयो, ‘रोकथामका उपायहरू अपनाइएकाले तत्काल समस्या आउने सम्भावना कम छ।’

४० मिटर लम्बाइको सो पक्की पुल स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७१/०७२ मा स्विस सरकारको सहयोगमा निर्माण भएको हो। स्वच्छन्द सिर्जना जेभीले झण्डै ४ करोड रुपैयाँ लागतमा पुल निर्माण गरेको हो।

पुल सञ्चालनमा आएपछि पुनः सवारी आवागमन सहज भएको छ। मन्थली र काठमाडौं जोड्ने वैकल्पिक मार्ग यही पुल भएकोले यसको सञ्चालनमा आउनुले व्यापार, यात्रा र विकास आयोजनाहरू सहज बनाएको छ।

गत असोजमा खुर्कोटको सुनकोसी पुल बगाएपछि जडान गरिएको बेली ब्रिजले १५ टनभन्दा माथिका सवारीसाधन धान्न नसक्ने भएकाले ठूला गाडीहरू यही भटौली पुल हुँदै सञ्चालनमा आउने गरेका छन्। सुनकोसी–मरिण डाइभर्सन आयोजनाका निर्माण सामग्री बोकेका गाडीहरू पुल बन्द हुँदा चार दिनसम्म रोकिएका थिए।

पुल क्षेत्रको संरक्षण कार्य नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन, स्थानीय तह, पूर्वाधार विकास कार्यालय र मरिण डाइभर्सन आयोजनाको सहकार्यमा सम्पन्न भएको हो। स्थानीयबासीको सक्रिय सहभागिताले मर्मत कार्य शीघ्र सम्पन्न गर्न सहयोग पुगेको जनाइएको छ।

स्थानीय स्तरमा तत्कालीन मर्मत भए पनि दीर्घकालीन रूपमा पुलको संरचना थप मजबुत बनाउने विषयमा चिन्ता व्यक्त गरिएको छ। वर्षा याममा नियमितरूपमा बाढीको जोखिम रहने हुँदा सुदृढ संरक्षणको माग समेत बढेको छ।