रामेछाप, साउन २१ । उमाकुण्ड गाउँपालिका–५ प्रीतिका वडाध्यक्ष कुलबहादुर बस्नेत (विकास) लगातार वर्षा भइरहेका बेला आफैँ सडक सरसफाइ अभियानमा खटिनु भएको छ।
पालिकाको जेसीभी र टिफर प्रयोग गरी वडाभित्रका मुख्य तथा शाखा सडकको सरसफाइ र खाल्डाखुल्डी पुर्ने काममा उहाँ आफैँ मैदानमा हुनुहुन्छ। नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष बस्नेतले जनतालाई सहज यात्राकाे वातावरण बनाउन आफ्नै पहलमा सडक सफा गर्ने, माटो र रोडा हाल्ने कार्यमा प्रत्यक्ष सहभागी भई नेतृत्व गर्नु भएको हो। उहाँ बेलचा समाएर आफैँ टिफरमा माटो हाल्ने र खन्याउने काममा जुट्नु भएकाे छ ।

वर्षात्को मध्य समयमा सडकमा पानीको बहाव, हिलो र खाल्डा–खुल्डीले स्थानीय बासिन्दा र यात्रुहरूलाई सास्ती भइरहेको बेला वडाध्यक्षको सक्रियताले राहत पुगेको छ। उहाँले आफनो वडाभित्रको अवस्था नियाल्दै तत्कालीन समस्याको समाधानका लागि कुनै पनि मौसमको प्रवाह नगरी काम गर्नु परेकाे बताउनुभयाे । वडाध्यक्ष बस्नेतले भन्नुभयो, ‘बर्खामा झनै सतर्क भएर काम गर्नुपर्छ, जनतालाई सास्ती भएको बेला प्रतिनिधि देखिनुपर्छ भन्ने सोचले म फिल्डमा खटिएको हुँ।’
स्थानीयबासीहरूले जनप्रतिनिधि आफैँ फिल्डमा उत्रिएको देख्दा विश्वास र प्रेरणा बढेको प्रतिक्रिया दिएका छन्। पालिकाको स्रोत साधनको सदुपयोग गर्दै उहाँले देखाएको सक्रियता अनुकरणीय बनेको स्थानीयवासीको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्