रामेछाप, २१ साउन । जिल्लामा रगतको अभाग हुन लागेको बेला रामेछापमा प्रहरीले रक्तदान कार्यक्रम आयोजना गरी रगत सङ्कलन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी रामेछापसँगको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय रामेछाप, जेसिआई रामेछाप तथा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा बुधबार जिल्ला प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रहरी तथा सर्वसाधारण गरी १३ जनाले रक्तदान गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी भोलाकुमार भट्टले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय रामेछापले यस अघि पनि रक्तदान कार्यक्रम गरी रगत दिने गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला भित्र र बाहिर समेत रगतको अधिक माग भएको कारण रगतको केही अभाव हुन लागेको बेला प्रहरीले सञ्चालन गरेको रक्तदान कार्यक्रमले सहयोग पुगेको नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
रामेछापमा सङ्कलन भएको रगत जिल्लाका अस्पतालहरूका साथै सिन्धुलीको खुर्कोट र काठमाडौंसम्म जाने गर्दछ । रक्तदान कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायत सहभागि हुनुहुन्थ्याे ।













प्रतिक्रिया दिनुहोस्