रामेछाप, साउन २१ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ र ७ मा सञ्चालित प्राङ्गारिक तथा सुरक्षित खाद्यान्न उत्पादन प्रणालीको विकास (एसएफभिसी) परियोजनाले वडा नम्बर ६ कार्यालयलाई विपद् व्यवस्थापनका लागि पूर्वतयारी सामग्रीहरू र नमुना किसानहरूलाई नमुना फार्म सञ्चालन गर्नका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ।
लिखु तामाकोशी गाउँपालिका–६ खिम्तिमा आयोजित कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद न्यौपानेलाई कार्यालयका लागि आवश्यक विपद् व्यवस्थापन सामग्रीहरू प्रदान गरिएको हो। त्यस्तै, अगुवा किसानहरूलाई नमुना फार्म सञ्चालनका लागि प्रयोगमा ल्याइने सामग्रीहरू पनि हस्तान्तरण गरिएको छ।
दिगो कृषि र कृषकहरूको पेसागत स्वास्थ्य प्रवर्द्धनका लागि मेड्सा डु मोण्ड र ट्रायङ्गल जेनेरेसन ह्युम्यानिटेरीको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकासका लागि किसान संस्था र मनसुन साना किसान कृषि सहकारी संस्था, खिम्तिको साझेदारीमा परियोजना सञ्चालनमा रहेको छ।
फ्रान्स सरकारको सहयोगमा सञ्चालन भइरहेको परियोजना रामेछापसँगै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा समेत कार्यान्वयन भइरहेको छ। परियोजनामार्फत कुल १९ वटा समूहमा आबद्ध ३०८ घरपरिवारलाई कार्यक्रमसँग जोडिएको जनाइएको छ। तीमध्ये मापदण्ड पुरा गरेका पाँच जना अगुवा किसानलाई प्रारम्भिक चरणमा नमुना फार्म सञ्चालनका लागि सामग्री सहयोग गरिएको हो। परियोजनाले एकै ठाउँमा कम्तीमा तीन रोपनी जमिन भएका किसानलाई प्राथमिकता दिएको जनाएको छ।
उत्पादन भएका अर्ग्यानिक कृषि उपजको उचित मूल्यमा बजार व्यवस्थापनसमेत सहकारीमार्फत सुनिश्चित गरिएको जनाइएको छ। परियोजनाले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्दै किसानहरूको क्षमता अभिवृद्धिमा सहयोग गरिरहेको बताइएको छ।
परियोजना संयोजक प्रमोद चौधरीका अनुसार वितरण गरिएका सामग्रीहरूले दिगो कृषि विकास, उत्पादन वृद्धिसँगै कृषकहरूको पेसागत स्वास्थ्य प्रवर्द्धनमा पनि टेवा पुर्याउने विश्वास लिइएको छ।

मेड्सा डु मोण्डका कार्यक्रम व्यवस्थापक महेशप्रसाद जोशीले खिम्ती भौगोलिक दृष्टिकोणले जोखिमयुक्त क्षेत्र भएकाले वडा कार्यालयलाई विपद् व्यवस्थापन सामग्रीहरू उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि पनि स्थानीय समुदायलाई विपद् व्यवस्थापनसम्बन्धी आवश्यक तालिमहरू दिइसकिएको छ।
वडाध्यक्ष शिवप्रसाद न्यौपानेले वडा नं. ६ मा विगतमा पटक–पटक ठुलो प्रकृतिका विपद् आइपरेको स्मरण गर्दै अहिले हस्तान्तरण गरिएका सामग्रीहरू विपद् व्यवस्थापनमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। साथै, किसानहरूलाई उपलब्ध सामग्रीको समुचित उपयोग गर्न आग्रह गर्दै परियोजनाबाट अपेक्षित सहयोग नपुगेमा वडा र स्थानीय सरकारले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कृषिमा विषादी र रासायनिक मलको प्रयोग घटाउने, स्थानीय स्रोतबाट जैविक मल र विषादी प्रयोग गर्ने, माटो परीक्षणसहित अर्ग्यानिक उत्पादनमा जोड दिने, र किसानले उत्पादन गरेका वस्तुहरूको उचित मूल्य सहित बजार व्यवस्थापन गरिने योजना परियोजनाको माध्यमबाट अघि बढाइएको हो।
यसै सन्दर्भमा खिम्तीमा कृषि संसाधन तथा ज्ञान केन्द्र स्थापना गरिएको छ, जसले माटो परीक्षण, उपकरण उपलब्ध गराउने, र प्रविधि हस्तान्तरणमार्फत किसानलाई सहयोग गरिरहेको छ। ज्ञान केन्द्रले जिल्ला कृषि विकास कार्यालयसँग सहकार्य गरी कृषकका समस्याहरू समाधान गर्ने कामसमेत गर्दै आएको मनसुन साना किसान सहकारी संस्थाका अध्यक्ष भाेजराज कँडरियाले जानकारी दिनुभयाे ।













प्रतिक्रिया दिनुहोस्