काठमाडौं, साउन २१ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनमा देखिएका समस्याहरूको जड नीतिगत पक्षमा रहेको भन्दै त्यसप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री न्यौपानेले संघीयतालाई सुदृढ बनाउन तीन तहका सरकारहरूबिच सशक्त समन्वय हुनुपर्नेमा जोड दिँदै हाल उठिरहेका प्रश्नहरू नीतिगत कमजोरीबाट उत्पन्न भएको धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘प्रशासनिक संघीयतालाई सुदृढ बनाउन आवश्यक छ, त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय हुनुपर्छ, कर्मचारी समायोजन, व्यवस्थापनलगायतका पक्षमा गहिरो अध्ययन आवश्यक देखिन्छ, संघीयता विषयक टिप्पणी र आलोचनाहरू किन उठिरहेका छन् भन्नेबारे आत्ममूल्यांकन गर्दै हामीले नीतिगत रूपमा कहाँ चुक्यौँ भन्ने कुरा बुझ्न आवश्यक छ ।’

मन्त्री न्यौपानेले सेवा प्रवाहमा सुधार र पारदर्शिताका लागि सुशासन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयाे । उहाँले भन्नुभयो, ‘कर्मचारीतन्त्रप्रति जनगुनासो छ, नागरिकले सामान्य कामका लागि समेत सिफारिस खोज्नुपर्ने अवस्था छ, यस्तो मनोविज्ञान अन्त्य गर्नुपर्ने छ, हामीले यस विषयमा गम्भीर छलफल गरेका छौँ र अब एक संयन्त्र बनाउँदै अगाडि बढ्ने निर्णय गरेर निर्देशन पनि दिइसकेको छु ।’

उहाँले सुशासनका सवालमा उठेका गुनासोलाई सम्बोधन गर्दै सार्वजनिक सेवामा जनमैत्री व्यवहारको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्