जनता टाइम्स

२१ श्रावण २०८२, बुधबार २१:१६

विपक्षी दलहरूको निष्कर्ष : निर्वाचन आयोगको स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत 


काठमाडौं, साउन २१ । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र सहित प्रतिनिधि सभामा रहेका केही मध्यम तथा साना दलहरूको संयुक्त बैठकले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्याङ्कन कार्यविधि’लाई संविधान विपरीत भएकाे ठहर गर्दै कडा आपत्ति जनाएका छन् ।

सिंहदरबारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकले कार्यविधि सरकारमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको इच्छा र दबाबमा ल्याउन लागिएको निष्कर्ष निकालेको छ । बैठकमा सहभागी दलहरूका अनुसार आयोगको प्रस्तावित कार्यविधि निर्वाचन आयोगको संवैधानिक भूमिका, दलहरूको स्वतन्त्रता तथा बहुदलीय प्रतिस्पर्धामाथि प्रश्न उठाउने खालको रहेको भन्दै आवश्यक परे संघर्ष र प्रतिवाद गर्ने समझदारी पनि भएको छ ।

दलहरूबीच उक्त कार्यविधि दलहरूको आन्तरिक मूल्याङ्कनभन्दा बाहिर गएर हस्तक्षेपको माध्यम बन्ने सम्भावना रहेको भन्दै राजनीतिक प्रतिवेदन तथा आधिकारिक धारणा तयार पारेर सार्वजनिक रूपमा प्रतिकार गर्ने तयारीसमेत रहेको जनाइएको छ ।

बैठकमा जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरूको सहभागिता रहेको थियो ।

बैठकपछि जारी गरिएको प्रारम्भिक धारणा अनुसार आयोगको कार्यविधिले दलहरूको वैचारिक, संगठनात्मक स्वतन्त्रता र अन्तरघात निषेध गर्ने संवैधानिक मर्ममाथि आघात पुग्ने खतरा रहेको भन्दै पुनर्विचार गर्न आग्रह गरिएको छ ।