जनता टाइम्स

२३ श्रावण २०८२, शुक्रबार १२:२७

नेपाली सेनाद्वारा खुर्कोट बेलीब्रीजको मर्मतकार्य जारी


रामेछाप, साउन २३ । रामेछापसँगै दोलखा, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका केही भागलाई राजधानी काठमाडौंसँग छोटो दूरीमा जोड्ने सडक खण्डमा पर्ने खुर्कोट बेलीब्रीजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेकाे छ ।

पुलमा लचकपन देखिन थालेको, नटबोल्टहरू खुकुलो भएको र फलामे पाता हल्लिन थालेको गुनासो बढेपछि बिहीबारदेखि मर्मत कार्य थालिएको हो ।खड्गदल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री कालीसिद्धी गणबाट खटिनुभएका नेपाली सेनाका इन्जिनियरिङ टोलीले पुलको मर्मत कार्य सुरु गर्नुभएको हो । नियमित निरीक्षणका क्रममा देखिएका प्राविधिक कमजोरीहरू समाधान गर्न मर्मत प्रक्रिया अघि बढाइएको जानकारी रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्यामकृष्ण थापाले दिनुभएको छ ।

प्रजिअ थापाका अनुसार पुलमा प्रयोग गरिएका थुप्रै नट–बोल्टहरू खुकुलो अवस्थामा भेटिएका छन् । लुज भएका नट–बोल्टहरू कस्ने र आवश्यकता परे नयाँ नट–बोल्टहरू फेर्ने काम समेत भइरहेको छ । उहाँले पुलको अवस्थालाई लिएर अत्यावश्यक पूर्वसतर्कता अपनाइएको बताउनुभयो ।

‘पुलमा कुनै आकस्मिक क्षति नभए पनि समय समयमा मर्मत आवश्यक पर्छ,’ प्रजिअ थापाले भन्नुभयो, ‘त्यसैले अहिलेको मर्मत कार्यलाई नियमित प्रकृया मान्नुपर्छ, सवारी आवागमनमा लामो समयसम्म अवरोध नहोस् भनेर केही घण्टा काम गर्दै, गाडीहरू पास गर्दै मर्मत कार्य अघि बढाइएको छ ।’

हाल मर्मत भइरहेको खुर्कोट बेलीब्रीज अघिल्लो वर्षको असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले मूल पुलको ५१ मिटर भाग बगाएपछि जडान गरिएको हो । त्यसपछि कात्तिक ६ गतेदेखि नेपाली सेनाको सहयोगमा वैकल्पिक रूपमा बेलीब्रीजमार्फत सवारी आवागमन पुनः सञ्चालनमा ल्याइएको थियो ।

नेपाली सेनाले आपतकालीन अवस्थाको मूल्याङ्कन गरी छोटो समयमै बेलीब्रीज जडान गरेकाे थियाे । जसले यातायात पुनः सञ्चालनमा ल्याउन ठूलो योगदान पुर्‍याएको थियो ।

खुर्कोट पुल रामेछाप र सिन्धुली जिल्लाको भौगोलिक सीमानामा पर्ने अत्यन्तै महत्वपूर्ण पूर्वाधार हो । यस पुलमार्फत पहाडी जिल्ला रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु र दोलखालाई तराई क्षेत्र र राजधानी काठमाडौंसँग जोडिएको छ । व्यापार, कृषि, स्वास्थ्य सेवा, शिक्षा र पर्यटनमा समेत यस पुलले सहज पहुँच विस्तार गरेको छ ।

स्थानीय प्रशासन, सडक डिभिजन कार्यालय र नेपाली सेनाबीच समन्वयमा मर्मत कार्य भइरहेको जनाइएको छ । मर्मत कार्य सकेपछि पुल पूर्ववत रूपमा पूर्ण रुपमा सञ्चालनमा आउने छ । स्थानीय बासिन्दाहरूले समयमै मर्मत थालिएकोमा सन्तोष व्यक्त गर्दै, स्थायी संरचना निर्माणतर्फ राज्यको ध्यानाकर्षण गराएका छन् ।