जनता टाइम्स

२३ श्रावण २०८२, शुक्रबार १६:१६

एकीकृत समाजवादी सानो पार्टी होइन : अध्यक्ष नेपाल


काठमाडौं, साउन २३ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू नेतृत्व गरेको पार्टीलाई ‘सानो’ भन्ने आरोपको खण्डन गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटीको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नाे पार्टी सानो नभएर शक्तिशाली राजनीतिक शक्ति भएको दाबी गर्नुभयो ।  ‘पार्टी सानो छ भन्ने के शब्दको प्रयोग गरिएको होला भन्ने लाग्छ, यदि हामी सानो हौँ भने एउटा मात्र सांसद, प्रदेश सदस्य, एक मात्र पालिकाको मेयर, वडा अध्यक्ष मात्रै जितेको पार्टी कस्तो हो त ? त्यो चाहीं महासानो भन्ने हो र ?’ उहाँले भन्नुभयाे ।

उहाँले विगतमा बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा पार्टीले मुख्यमन्त्री नै चलाएकाे सुनाउनुभयाे । ‘तीन वटा प्रदेशको मुख्यमन्त्री हामीले नै बनायौँ, हैसियत र शक्ति भएकै कारण हामीले निर्णायक भूमिका निर्वाह गर्न सक्यौँ, नत्र मुख्यमन्त्री वा मन्त्री बन्ने अवस्था नै हुँदैनथ्यो’, उहाँले भन्नुभयाे ।

कार्यक्रममा अध्यक्ष नेपालले पार्टी सिद्धियो भन्ने हल्ला र प्रचारप्रति पनि असन्तुष्टि जनाउँदै कार्यकर्तालाई सजग रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘बाहिर बजारमा कसैले केही प्रचार गरेपनि कागले कान लग्यो भनेर कागको पछि कुद्ने होइन, सबैभन्दा पहिले आफ्नो कान छाम्नुपर्छ, पार्टी सिद्धियो भनेर जसले भने पनि पार्टीका यत्रा गतिविधिहरुले बताइरहेको छ, दुनियाँले पत्याइरहेको छ ।’

अधिवेशनमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले समेत सम्बोधन गर्नु भएको थियो । उहाँले पार्टीभित्र गम्भीर प्रतिबद्धता र स्थायित्वको आवश्यकता रहेको भन्दै देखावटी होइन, व्यवहारमै संगठन सुढृढ गर्ने खाँचो औंल्याउनुभयो ।