रामेछाप, साउन २३ । रामेछाप र दोलखाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल शैलुङमा जनैपूर्णिमाको अवसरमा विशेष मेला लागेको छ ।
गत साउन २१ गतेदेखि सुरु भएको मेला शनिबार बिहान सकिने छ । मेला जनैपूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म लाग्ने गर्दछ । देशका विभिन्न जिल्लाबाट आएका हजारौँ श्रद्धालुहरू धार्मिक महत्व र प्राकृतिक सौन्दर्य अवलोकन गर्न शैलुङमा जम्मा भएका छन् ।
शैलुङमा लाग्ने मेला रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहितका क्षेत्रका मानिसको भक्ति र परम्पराको केन्द्र हो । जनैपूर्णिमाका अवसरमा धामीहरू यहाँ आएर सिद्धि प्राप्त गर्ने साधना गर्छन् ।
रातभर जाग्राम बसेर तान्त्रिक विधिअनुसार पूजाआजा गर्ने परम्परा रहँदै आएको छ । उनीहरू यो अवसरलाई आत्मबल र धार्मिक शक्ति प्राप्त गर्ने महत्त्वपूर्ण समय मान्दछन् । धामीहरुलाई आज साँझ बिदा गरिएको छ । जनैपूर्णिमामा जनै लगाउने कतिपय भने भोलि बिहानसम्म बस्ने गर्दछन् ।

शैलुङलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्बीका लागि समान रूपले पवित्र स्थल मानिन्छ । धार्मिक विश्वास अनुसार यही शिखरमा भगवान् बास रहेको छ । बौद्ध अनुयायीहरू पनि यहाँ बुद्धले पाइलो टेकेको विश्वास गर्दछन् । यही कारण शैलुङमा हिन्दु र बौद्धधर्मालम्बीहरु आस्थापूर्वक जाने गर्दछन् ।
शैलुङको चुचुरोमा पुगेपछि उत्तरतर्फको विशाल हिमशृङ्खला, पूर्व–पश्चिम फैलिएका एकसय बढी थुम्काहरू, हरियालीसहितको मनोरम वातावरणले मेलामा आउने प्रत्येक दर्शनार्थीलाई भक्ति र शान्तिको अनुभूति दिलाउँछ । शैलुङ क्षेत्र पछिल्लो समय पर्यटनको गन्तव्य स्थल बन्न थालेको छ ।
मेलामा सहभागी हुने दर्शनार्थीहरूका लागि स्थानीय बासिन्दाले होमस्टे सञ्चालन गरेका छन् । उनीहरूले स्थानीय खाना, नाचगान, सांस्कृतिक प्रदर्शन र सेवा सुविधाको व्यवस्थापन गरिरहेका छन् । यहाँ पुगेका पाहुनाले मात्र होइन, स्थानीय बासिन्दाले समेत मेलाको अवसरमा आम्दानी गर्ने र संस्कृति देखाउने सुनौलो अवसरको रूपमा यसलाई लिएका छन् ।
मेलामा स्थानीय कृषि उत्पादन, चौँरीको दूधबाट बनेको छुर्पी लगायतका परिकारहरूको राम्रो व्यापार हुने गरेको छ । स्थानीय पर्यटन व्यवसायी दावासङ्बु शेर्पाका अनुसार यस वर्ष श्रावण महिनामा मात्र ३० हजारभन्दा बढी मानिस शैलुङको भ्रमणमा आएका छन् ।यसले पर्यटनको ठुलो सम्भावना देखाएको उहाँको भनाइ छ ।

मेलाका कारण व्यवसाय मात्र होइन, सांस्कृतिक आदान–प्रदान, धार्मिक आस्था र स्थानीय पहिचान बलियो बनेको छ। पहिला कठिन बाटो भएर जानुपर्ने शैलुङ हाल सडक सञ्जालसँग जोडिएपछि पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।
शैलुङमा लागेको मेला केवल धार्मिक र सांस्कृतिक पक्षमा सीमित छैन, यसले आर्थिक तथा सामाजिक रूपमा पनि प्रभाव पारिरहेको छ । ‘ शैलुङ क्षेत्रलाई केही व्यवस्थित र व्यवस्थापन गर्न सक्ने हो भने देशको आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ’, रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले भन्नुभयाे ।
शैलुङ जस्तो धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थललाई प्रवद्र्धन गर्न योजनाबद्ध पहल आवश्यक देखिन्छ। यसलाई धार्मिक पर्यटन सर्किटको रूपमा विकास गर्न सके यस क्षेत्रले मुलुककै पर्यटन नक्सामा विशेष स्थान ओगट्न सक्छ । यहाँको धार्मिक विविधता, भू–स्वरूप, सांस्कृतिक धरोहर र मानवीय आतिथ्यता त्यसको प्रमुख आधार बन्न सक्छ ।
हरेक वर्ष जनैपूर्णिमा नजिकिँदै जाँदा शैलुङको शिखरतिर मानिसको ताँती लाग्छ। त्यो केवल एक पर्वका लागि होइन, श्रद्धा, विस्मय र आत्मानुभूतिको यात्राका लागि हो । जहाँ आकाश छुने पहाडमाथि महादेव र बुद्धको पाइला अडिएको विश्वास पलाउँछ, जहाँ भक्तिभाव झल्कन्छ र विगतको संस्कार र संस्कृति सम्झाउँछ ।













प्रतिक्रिया दिनुहोस्