काठमाडाैं, साउन २३ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मदन–आश्रित स्मृति प्रतिष्ठानको ३१ औँ साधारण सभाबाट अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ।
प्रतिष्ठानको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गर्नुभएका ज्ञवाली पार्टीभित्र विचार, अनुसन्धान र सैद्धान्तिक प्रशिक्षणमा गहिरो सरोकार राख्ने सालीन र बौद्धिक नेताका रूपमा चिनिनुहुन्छ।
पूर्व परराष्ट्र मन्त्रीसमेत रहनुभएका ज्ञवाली लामो समयदेखि एमालेको नीति, विचार र अन्तर्राष्ट्रिय सम्बन्धको पक्षमा सक्रिय रहनु भएको छ। उहाँको नेतृत्वले प्रतिष्ठानलाई अझ वैचारिक रूपमा सबल बनाउने अपेक्षा गरिएको छ।
साधारण सभामा प्रतिष्ठानको भावी योजना, वैचारिक उत्पादन, स्मृतिग्रन्थ प्रकाशन र प्रशिक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले मदन भण्डारी र जीवराज आश्रितको योगदान स्मरण गर्दै उहाँहरूको विचारलाई आजको सन्दर्भमा जीवन्त बनाउने आवश्यकता औंल्याउनुभएकाे थियाे ।
ज्ञवालीले प्रतिष्ठानलाई मुलुकको विचार निर्माण र अनुसन्धानको प्रमुख थलो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्