जनता टाइम्स

२४ श्रावण २०८२, शनिबार १२:२३

नगर उपप्रमुख गंगा श्रेष्ठलाई एमालेले गर्‍यो निलम्बन


काठमाडौं, २४ साउन । नेकपा एमाले गुल्मीले मुसिकोट नगर उपप्रमुख गंगा श्रेष्ठलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टी पदाधिकारीको बैठकले उहाँलाई एक वर्षको लागि निलम्बन गरेको जिल्ला कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख चक्रबन्दु भुसालले जानकारी दिनुभयो । पार्टी हित विपरीत काम गरेको आरोपमा गत असार २९ गते श्रेष्ठसँग स्पष्टीकरण सोधिएको थियो । श्रेष्ठले असार ३२ गते स्पष्टीकरण बुझाए पनि जिल्ला कमिटीले चित्त नबुझेको भुसालले बताउनुभयो । मुसिकोट नगरकमिटीको सिफारिस र थप अध्ययनपछि कारबाही गरिएको उहाँले स्पष्ट पार्नुभयो। कारबाही पत्रमा विस्तृत विवरण खुलाइएको छैन । तर, धेरै विषयमा कमजोरी देखिनुका साथै सचेत गराउँदा पनि कार्यान्वयन नभएको कारण कारबाही गरिएको भुसालको भनाइ छ ।
श्रेष्ठले भने नगरको बजेट निर्माणमा आफूलाई बाइपास गरिएको विषयमा नेतृत्वको आलोचना गर्नुभएको थियो । ‘नगरमा बोलेको कुरा पार्टीभन्दा मेयरको कार्यशैलीविरुद्धको हो, त्यसैले कारबाही भए सहन्छु’, उहाँले भन्नुभयो । आफूलाई कारबाहीको आधिकारिक पत्र अझै प्राप्त नभएको जनाउँदै उहाँले पार्टी बाहिर नजाने स्पष्ट पार्नुभयो । ‘मैले नगरभित्र पदको अधिकार मात्र खोजेको हो, त्यो पार्टीलाई मन नपरेको हुनसक्छ’, श्रेष्ठले भनिन् । श्रेष्ठ नेकपा एमाले गुल्मीको जिल्ला सदस्य रहनुभएको थियो।