जनता टाइम्स

२४ श्रावण २०८२, शनिबार १६:३६

पर्यटन प्रवर्धनमा राज्य, निजी क्षेत्र र समुदायको साझेदारी अपरिहार्य : लब श्रेष्ठ


रामेछाप, साउन २४ । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले पर्यटन विकास र प्रवर्धनको काम केवल राज्यको प्रयासबाट मात्र सम्भव नहुने बताउँदै राज्य, निजी क्षेत्र र समुदायको समान साझेदारी अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएकाे छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औँ स्थापना दिवसको अवसरमा शनिबार मन्थलीमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले रामेछाप र मन्थलीमा पर्याप्त पर्यटन सम्भावना रहेकाले यसको विकास र व्यवस्थापनमा सबै पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयाे । ‘भएका संरचनाको संरक्षण र व्यवस्थापनमा हामी सबै लाग्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘जनजातिको बसोबास भएका क्षेत्रमा कला, संस्कार र संस्कृतिको संरक्षण गर्न सके मात्रै पर्यटन प्रवर्धनमा टेवा पुग्छ।’

मन्थली विमानस्थलबाट सोलुखुम्बु उडानको दिगोपनामा सफलता दिलाउन सके मन्थलीमा पर्यटन विकासको मार्ग प्रशस्त हुने उहाँकाे धारणा छ। तर, हालसम्म यसमा अपेक्षित प्रगति हुन नसकेको बताउँदै उहाँले सरोकारवाला निकायमा पहल भए पनि ठोस परिणाम नआएको उल्लेख गर्नुभयाे ।

पर्यटन प्रवर्धनमा ट्राभल एजेन्सीहरूको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै नगरप्रमुख श्रेष्ठले उनीहरूलाई सकारात्मक योगदान दिन आग्रह गर्नुभयाे । पर्यटकहरुकाे प्याकेज बनाउँदा रामेछाप भ्रमणकाे पनि प्याकेज बनाउने उहाँले आग्रह गर्नुभयाे ।

कार्यक्रममा रामेछापका दुई पत्रकारलाई सम्मान गरिएको थियो। उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८२ पत्रकार ज्ञानु श्रेष्ठलाई र खोज पत्रकारिता वर्ष पुरस्कार–२०८२ पत्रकार बद्री नयाँघरेलाई प्रदान गरिएको हो।

नगरप्रमुख लब श्रेष्ठ र फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले पत्रकार ज्ञानु श्रेष्ठलाई नगद १० हजार र पत्रकार बद्री नयाँघरेलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयाे ।

फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठका अनुसार हालसम्म उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार ७ जना र खोज पत्रकारिता वर्ष पुरस्कार ४ जनालाई प्रदान गरिसकिएको छ।