– नवराज पथिक-
रामेछाप, साउन २४ । रामेछापको ऐतिहासिक धार्मिक शक्ति पीठ खाँडादेवीमा हरेक दिन विश्व शान्तिको कामना गर्दै पूजा हुने गरेको छ ।
खाँडादेवी मन्दिरमा दैनिक पूजाको प्रारम्भ नै देश विदेशमा रहेको नेपालीहरूको सुख शान्ति र समग्र विश्व शान्तिको कामना गर्दै हुने खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउनुहुन्छ ।
बिहान खाँडादेवी र खाँडादेवी परिसरमा रहेका गणेश, मङ्गलादेवी, भैरवी देवी र कमलामाईलाई पूजा गर्दै पुजारीहरूले गाउँ र देशमा कुनै रोग व्याध नआओस्, मानिस र समग्र पशु बस्तुमा रोग नलागोस्, अन्नबाली, धन दौलत सबै रक्षा होस् भनि पुकारा गर्ने गर्दछन् । पुजारीले यसरी समग्र विश्व शान्तिको कामना गर्दै पूजा गरेपछि बल्ल अन्य पूजा सुरु हुन्छ ।
खाँडादेवी निक्कै पुरानो धार्मिक शक्ति पीठ हो । हरेक बडादशैँ र चैतेदशैँको नवरात्रीमा विशेष पूजा हुने खाँडादेवीमा अन्य समयमा पनि दैनिक नित्य पूजा हुने गर्दछ । साउन महिनामा केही कम भए अन्य सबै महिनामा दैनिक जसो बलि पूजा गर्न देशभरिबाट भक्तजनहरू आउने खाँडादेवीलाई आस्था र विश्वासकी देवी मानिन्छ ।
खाँडादेवीमा भाकल गरेपछि मागेको कुरा पुरा हुने जनविश्वास छ । त्यही मागेको कुरा पुरा भएपछि खाँडादेवीमा बली र पूजा लिएर भक्तजनहरू आउने गर्दछन् ।
रामेछापको खाँडादेवी गाउँपालिका–७ र २ को सिमानामा पर्ने खाँडादेवी मन्दिरको ऐतिहासिक महत्त्व भएकै कारण पुरात्व विभागले पुरातात्विक हिसाबले यो मन्दिरको निर्माण गरिदिएको छ । मन्दिरको संरक्षण, व्यवस्थापन तथा पुजारी र पूजा व्यवस्थापनको काम खाँडादेवी विकास कोषले गर्दै आएको छ ।
कोषले निःशुल्क पूजाको व्यवस्था गरेको छ भने बलि चढाउनेको शुल्क निर्धारण गरेको छ । मन्दिरमा चढाएको भेटी, बलि पूजाको शुल्क तथा सहयोगी दाताहरूले गरेको सबै सहयोग विकास कोषमा जम्मा हुने गरेको छ ।
सोही रकमबाट विकास कोषले पुजारी व्यवस्थापन, मन्दिरको सरसफाई, बगैँचा व्यवस्थापन, विभिन्न निर्माणका काम र सामाजिक काम समेत गर्दै आएको कोषका अध्यक्ष तामाङले बताउनुभयो ।
खाँडादेवी मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यति बेला चढाएको घण्टी र दरबारले चढाएको सुन र चाँदीको जन्तरले यसको ऐतिहासिकतालाई पुष्टि गर्दछ ।
नेपाल एकीकरण गर्ने क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र लडाइँ जित्न खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका तथा गणेशलाई कुखुराको पोथी बलि दिनु भनी आदेश दिनुभएको भन्ने जनश्रुति रहँदै आएको छ ।
पहिला दरबारबाट नै सो पूजाको लागि खर्च आउने गर्दथ्यो अहिले सो पूजा खाँडादेवी विकास कोषले गर्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्