काठमाडौं, साउन २४ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहासलाई बिर्सनु पार्टी र मुलुक दुवैका लागि घातक हुने बताउनुभएको छ ।
शनिबार आयोजित नेपाली कांग्रेसको १६ औँ महाधिवेशन तथा आगामी नीति र नेतृत्व विषयक विचार गोष्ठीमा सम्बोधन गर्दै उहाँले विगतका आन्दोलन र बलिदानले आजको अवस्था सम्भव भएको बताउनुभयो । त्यसबाट प्रेरणा कांग्रेस अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ, देशको लागि समर्पित हो भन्ने कुरालाई हामीले बिर्सिदियौँ भने समस्या त्यहीनेर उत्पन्न हुन्छ र हामी नितान्त निजी स्वार्थमा लिप्त हुन्छौँ,’ उहाँले भन्नुभयो।
उहाँले नेपाली कांग्रेस सधैँ वर्तमानमा मात्र छ भन्ने धारणा सही नभएको टिप्पणी गर्दै इतिहासले नै पार्टीको महिमा बढाउने उहाँले बताउनुभयो। ‘२००७ सालमा हामी त्यसकै वर्तमानमा थियौँ, ३० वर्ष निरङ्कुश शासनको विरोध गर्दा त्यसबेलाकै वर्तमानमा थियौँ, ०६२/०६३ आन्दोलनमा पनि त्यसबेलाकै वर्तमानमा थियौँ र आज पनि आजैको वर्तमानमा छौँ, तर पार्टीको फाउन्डेसन बिर्सनुभयो भने गति पाउनुहुन्न,’ उहाँको भनाइ छ।
सिटौलाले एकीकृत, केन्द्रित, एकात्मक निरङ्कुश सामन्ती व्यवस्था फाल्न सफल भए पनि त्यसका संस्कार अझै अन्त्य गर्न नसकिएको उल्लेख गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्