जनता टाइम्स

२५ श्रावण २०८२, आईतवार २१:१२

सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ : उपमहासचिव ज्ञवाली


काठमाडौं, साउन २५ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने बाउनुभएका छ ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित ‘सामुदायिक वनको अवस्था: चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सामुदायिक वनले स्थानीय समुदायलाई लाभ दिनुका साथै राष्ट्रिय समृद्धिमा प्रत्यक्ष योगदान पुर्‍याउन सक्ने धारणा राख्नुभयो । ‘अब सामुदायिक वनले सिङ्गो वनजङ्गललाई संरक्षण गर्दै समृद्धिमा जोड्नुपर्छ, सरकार र सामुदायिक वन उपभोक्ता समितिबिच सहकार्य र समन्वयका माध्यमबाट वन सम्पदाको उत्पादनशील प्रयोग गर्नुपर्छ’,  ’ उहाँले भन्नुभयो ।

उहाँले प्राकृतिक स्रोत राष्ट्रको स्वामित्वमा रहनुपर्ने र त्यसमार्फत जनताले लाभ पाउनुपर्नेमा जोड दिनुभयो । सामुदायिक वनमा सरकार र स्थानीय समुदायको संयुक्त स्वामित्वबारे स्पष्ट नीतिगत सहमति आवश्यक भएको उहाँको भनाइ छ । ज्ञवालीले जङ्गलबाट दाउरा र स्याउला सङ्कलन गर्ने प्रथालाई क्रमशः विद्युत् र ग्यासमा रूपान्तरण गर्नुपर्ने सुझाव दिनुभयो ।  निजी क्षेत्रसँग साझेदारी गरी सामुदायिक वनको उत्थान र समुदायको आर्थिक सशक्तिकरण सम्भव रहेकाे उहाँकाे धारणा छ ।

सामुदायिक वनले वातावरणीय सन्तुलन र नागरिकको जीवनस्तर उकास्ने तथा समुदायको सहभागिता सुनिश्चित गर्ने काममा असाधारण योगदान दिएकाे बताउँदै कार्बन व्यापारबाट  पनि अब लाभ लिन सकिने बताउनुभयाे । ‘अब कार्बन व्यापारबाट संयुक्त राष्ट्रसंघमार्फत आर्थिक लाभ लिन सक्ने गरी प्रोत्साहन दिनुपर्छ’, उहाँले भन्नुभयाे ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा. नरेश सुवेदीले विकसित मुलुकहरूले हरेक क्षेत्रमा आर्थिक पक्षलाई प्राथमिकता दिएर समृद्धि हासिल गरेको उदाहरण दिनुभयेा । ‘हिजो स्वयंसेवकका रूपमा वन संरक्षण गर्नेहरूले अब आर्थिक रूपमा पनि सशक्त हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

राष्ट्रपति चुरे–तराई संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले संरक्षणको चरण पार गरिसकेको सामुदायिक वनबाट अब उत्पादन र आय–आर्जनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनलाई समाजवादको प्रवेश–बिन्दु बनाउन सकिने धारणा राख्नुभयाे । ‘गरिबदेखि धनी सबैको पहुँच हुने संरचना भएकाले यसलाई मर्ज गर्ने सरकारी नीति गलत हुनेछ,’ उहाँले भन्नुभयो ।

प्रगतिशील वन प्राविधिक संघकी उपाध्यक्ष मञ्जु घिमिरे र प्रस्तोता नयाँ शर्मा पौडेल दुवैले सामुदायिक वनलाई केवल काठ, दाउरा र घाँसको स्रोतका रूपमा मात्र नभई दीर्घकालीन आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।