जनता टाइम्स

२६ श्रावण २०८२, सोमबार १२:२१

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता


काठमाडौं, साउन २६ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ।

उहाँहरूबीच वर्तमान राजनीतिक परिस्थितिको बारेमा विस्तृत छलफल भएको बताइएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे पनि विचारविमर्श भएको थियो।

भेटमा यथास्थितिको अन्त्य, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा तथा समृद्ध नेपाल निर्माणका लागि समाजवादको दिशातर्फ अघि बढ्न आवश्यक कदमबारे समेत छलफल भएको थियो। संघर्षशील शक्तिहरूले अहिलेको परिस्थितिलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि चाल्नु पर्ने नयाँ पहल र कदमबारे पनि दुवै नेता बीच विचार आदान–प्रदान भएको छ।

यसअघि, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।