जनता टाइम्स

२६ श्रावण २०८२, सोमबार १५:४७

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण


काठमाडौँ, साउन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीहरूले नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडान सुरु गर्न माग गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा प्रतिनिधिमण्डलले नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेको भन्दै पश्चिम नेपालको ३२ जिल्लाका लागि सहज हवाई सुविधा र व्यापार–व्यवसायको विस्तारका दृष्टिले दिल्लीसम्मको सिधा उडान अपरिहार्य रहेको औँल्याए।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र हस्तान्तरण गर्दै सिधा हवाई सेवा सञ्चालनले सीमा पारको व्यापारिक आदान–प्रदान, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

मागपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले विषयप्रति आफू सकारात्मक रहेको र भारत सरकारसँग आवश्यक छलफल अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार, जमिन संरक्षण र अन्य भौतिक पूर्वाधार सुदृढीकरणमा समेत सरकारको ध्यान रहने आश्वासन दिनुभयो।