जनता टाइम्स

२६ श्रावण २०८२, सोमबार १६:४४

रामेछापमा लागु औषध नियन्त्रणको लागि समुदाय स्तरसम्म सचेतना कार्यक्रम सञ्चालन गरिने 


रामेछाप, साउन २६ । रामेछापमा लागु औषध ओसारपसार र नियन्त्रणका लागि विद्यालय तथा समुदाय स्तरसम्म सचेतना अभियान सञ्चालन गरिने भएको छ ।

जिल्ला लागु औषधको ओसार पसार र प्रयोग ठुलो समस्याको रूपमा नरहेको भए पनि फाट्टफुट्ट रूपमा देखिएको प्रयोगलाई पनि नियन्त्रण गर्नका लागि सो अभियान सञ्चालन गर्ने निर्णय सोमबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको सुरक्षा निकाय र सरोकारवालाको बैठकले गरेको हो ।

लागु औषध दुरुपयोग नियन्त्रण गर्ने विषयमा बसेको बैठकले स्थानीय तह, सामाजिक संस्था, सामुदायिक संस्था तथा विद्यालयहरूसँग सहकार्य गरी सो अभियान सञ्चालन गर्ने निर्णय गरेको थापाले जानकारी दिनुभयो ।

यसको साथै लागु औषध निकासी, पैठारी, कारोबार तथा प्रयोगका सम्भावित स्थलमा सुरक्षा निगरानी बढाउने, प्रयोगका सम्भावित क्षेत्र पहिचान गरी अनुगमन र निगरानी बढाउने, सरोकारवालाले प्राप्त गरेको सूचना सुरक्षा निकायमा जानकारी गराउने निर्णय पनि बैठकले गरेको ।

सरोकारवालाको सहभागितामा स्थानीयतहसम्म सहकार्य गरेर अभियान सञ्चालन गरिने प्रजिल थापाले जानकारी दिनुभयो ।