काठमाडौं, साउन २६ । विश्वका सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने ‘सेभेन समिट’ अभियानमा रहेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डे ओसिनिया क्षेत्रको इण्डोनेसियामा पर्ने सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुञ्जाक जाया) आरोहणका लागि सोमबार त्यस तर्फ प्रस्थान गर्नुभएको छ ।
इण्डोनेसिया जानको लागि पाण्डे सोमबार मलेसिया उड्नु भएको छ । मलेसियाबाट मंगलबार इण्डोनेसियाकाे राजधानी जकार्ता पुगेपछि त्यहाँबाट बुधबार बिहान तिमिका पुग्ने काठमाडौंबाट मलेसिया उड्नु अघि पाण्डेले जानकारी दिनुभयो । तिमिका पुगेपछि उहाँको कास्ट्रेन्स्ज पिरामिडको आरोहण सुरु हुने छ ।
कास्ट्रेन्स्ज पिरामिड ४ हजार ८ सय ८४ मिटर उचाइको चुनढुङ्गाले बनेको पिरामिड आकारको हिमाल हो । जुन पपुवा प्रान्त, इण्डोनेसियामा अवस्थित छ । विश्वका सात महादेशका उच्च शिखरमध्ये एक मानिने यो हिमाल आरोहीका लागि अत्यन्त चुनौतीपूर्ण मानिन्छ।
पाण्डे यो आरोहणपछि क्रमशः अमेरिका र अन्टार्टिकाको उच्च हिमाल आरोहण गरी अन्ततः नेपालमै फर्केर सगरमाथामा पुनः राष्ट्रिय झण्डा फहराउने योजनामा हुनुहुन्छ । मकालु आउट फिटको सहकार्यमा अभियान अघि बढाइरहनुभएका उहाँलाई विभिन्न पालिका, संघ–संस्था र व्यावसायिक प्रतिष्ठानहरूले आर्थिक सहयोग तथा आरोहण सामग्री उपलब्ध गराइरहेका छन्।
इण्डोनेसियापछि उहाँको लक्ष्य उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनालीको आरोहण गर्ने रहेको छ।

पाण्डेलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको थियो । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का स्थायी बासिन्दा पाण्डेलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोहण अभियानमा सफलताको शुभकामना दिँदै यसले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा गौरवान्वित बनाउने अपेक्षा व्यक्त गर्नुभएको थियो ।
यस अघि सगरमाथा, मनास्लु, आमादब्लमसहित नेपालका दर्जनौँ हिमाल सफलतापूर्वक आरोहण गरिसक्नुभएका उहाँले ‘सेभेन समिट’ अभियानअन्तर्गत सन् २०२४ को जुनमा युरोपको उच्च शिखर माउण्ट एलब्रस र नोभेम्बरमा अफ्रिकाको उच्च शिखर किलिमन्जारो आरोहण गर्नुभइसकेको छ । यसै वर्ष फेब्रुअरीमा दक्षिण अमेरिकाको उच्च शिखर अकोन्कागुआ पनि पाण्डेले सफलतापूर्वक आरोहण गर्नुभएको थियो ।
पाण्डेले सन् २०१६ देखि आरोहण सुरु गर्नुभएको हो । सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढिसक्नु भएका उहाँ हाल ‘सेभेन समिट’ अभियानमार्फत जलवायु परिवर्तनका मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउँदै हुनुहुन्छ । जलवायु परिवर्तनका कारण पर्वतीय मुलुक नेपाल प्रत्यक्ष असरमा परेको हुँदा यसबारे सचेतना जगाउनु आफ्नो कर्तव्य भएको उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्