‘सेभेन समिट’मा निस्किएका प्रकाशराज पाण्डे इण्डोनेसियामा, यस्तो छ ‘कास्ट्रेन्स्ज पिरामिड’ आरोहणको तालिका
काठमाडौं, साउन २७ । विश्वका सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने ‘सेभेन समिट’ अभियानमा रहेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डे ओसिनिया क्षेत्रको इण्डोनेसियामा पर्ने सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुञ्जाक जाया) आरोहणका क्रममा इण्डोनेसिया पुग्नु भएको छ ।
सोमबार काठमाडौंबाट उड्नु भएका पाण्डे मलेसिया हुँदै मंगलबार इण्डोनेसियाको राजधानी जकार्ता पुग्नु भएको हो । आज राती १० बजे जकार्ताबाट उडान भर्ने र बुधबार बिहान इण्डोनेसियाकाे तिमिका पुगिने पाण्डेले जानकारी दिनुभयो । तिमिका पुगेपछि उहाँको कास्ट्रेन्स्ज पिरामिडको आरोहण सुरु हुने छ ।
यात्रा क्रममा अगस्ट १३ अर्थात् भोली बिहान पाण्डे इण्डोनेसियाको टिमिका पुग्नु हुने छ । भोलि होटेलमा बस्ने र आफ्ना उपकरणहरू जाँच गर्ने कार्यतालिका रहेको छ ।
दोस्रो दिन अगस्ट १४ मा हेलिकप्टरबाट ४ हजार ३ सय मिटर अग्लो येलो भ्याली बेस क्याम्पमा पुगी क्याम्पमा बस्ने कार्यतालिका रहको छ ।
तेस्रो दिन अगस्ट १५ मा पर्वत गाइडसँग तालिम र अनुकूलन हुने समय तोकिएको छ । यसैगरी चौथो दिन अगस्ट १६ मा पूर्णप्राविधिक आरोहणको साथ शिखर आरोहणको दिन रहेको छ । सो दिन ४ हजार ८ सय ८४ मिटर अग्लो कार्स्टेन्ज चुचुरोमा पुग्न लगभग ६ देखि ७ घण्टा समय लाग्ने छ भने ओर्लन ५ देखि ६ घण्टा लाग्नेछ ।
आरोहणबाट फर्किएपछि पाँच दिन अर्थात अगस्ट १७, २०२५ मा पाण्डे हेलिकप्टरबाट तिमिकामा फिर्ता उडान हुने कार्यतालिका हरको छ । त्यहाँबाट बाली वा जकार्ताको लागि कनेक्टिङ उडान हुने छ ।
छटौँदिन अगस्ट १८, २०२५ अर्को गन्तव्य वा नेपाल फर्कन सक्ने गरी तालिका निर्धारण गरिएको छ ।
मौसमको कारण हेलिकप्ट उडान प्रभावित हुनसक्ने आयोजकले जनाएको छ । मौसममा खराबी भयो भने यात्रा अतिरिक्त ३ दिन लम्बिन सक्ने प्रक्षेपण गरिएको छ । इन्डोनेसियाको पपुवामा अपेक्षित खराब मौसम वा अप्रत्याशित परिस्थितिको लागि तयारी गर्न तीन दिन थप समय राखिएको छ ।
कास्ट्रेन्स्ज पिरामिड ४ हजार ८ सय ८४ मिटर उचाइको चुनढुङ्गाले बनेको पिरामिड आकारको हिमाल हो । जुन पपुवा प्रान्त, इण्डोनेसियामा अवस्थित छ । विश्वका सात महादेशका उच्च शिखरमध्ये एक मानिने यो हिमाल आरोहीका लागि अत्यन्त चुनौतीपूर्ण मानिन्छ।
पाण्डे यो आरोहणपछि क्रमशः अमेरिका र अन्टार्टिकाको उच्च हिमाल आरोहण गरी अन्ततः नेपालमै फर्केर सगरमाथामा पुनः राष्ट्रिय झण्डा फहराउने योजनामा हुनुहुन्छ । मकालु आउट फिटको सहकार्यमा अभियान अघि बढाइरहनुभएका उहाँलाई विभिन्न पालिका, संघ–संस्था र व्यावसायिक प्रतिष्ठानहरूले आर्थिक सहयोग तथा आरोहण सामग्री उपलब्ध गराइरहेका छन्।
इण्डोनेसियापछि उहाँको लक्ष्य उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनालीको आरोहण गर्ने रहेको छ।
पाण्डेलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको थियो । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का स्थायी बासिन्दा पाण्डेलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोहण अभियानमा सफलताको शुभकामना दिँदै यसले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा गौरवान्वित बनाउने अपेक्षा व्यक्त गर्नुभएको थियो ।
यस अघि सगरमाथा, मनास्लु, आमादब्लमसहित नेपालका दर्जनौँ हिमाल सफलतापूर्वक आरोहण गरिसक्नुभएका उहाँले ‘सेभेन समिट’ अभियानअन्तर्गत सन् २०२४ को जुनमा युरोपको उच्च शिखर माउण्ट एलब्रस र नोभेम्बरमा अफ्रिकाको उच्च शिखर किलिमन्जारो आरोहण गर्नुभइसकेको छ । यसै वर्ष फेब्रुअरीमा दक्षिण अमेरिकाको उच्च शिखर अकोन्कागुआ पनि पाण्डेले सफलतापूर्वक आरोहण गर्नुभएको थियो ।
पाण्डेले सन् २०१६ देखि आरोहण सुरु गर्नुभएको हो । सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढिसक्नु भएका उहाँ हाल ‘सेभेन समिट’ अभियानमार्फत जलवायु परिवर्तनका मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउँदै हुनुहुन्छ । जलवायु परिवर्तनका कारण पर्वतीय मुलुक नेपाल प्रत्यक्ष असरमा परेको हुँदा यसबारे सचेतना जगाउनु आफ्नो कर्तव्य भएको उहाँको भनाइ छ













प्रतिक्रिया दिनुहोस्