जनता टाइम्स

३ आश्विन २०८२, शुक्रबार ०८:३१

संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे


काठमाडौं, ३ असोज । सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी रहेको बताउनुभएको छ । संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासन प्रवर्द्धन हुने उहाँको भनाइ छ ।संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले सो धारणा सार्वजनिक गरेका हुन् । संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उहाँले उल्लेख गर्नुभएको छ । भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थिति सृजना गरिएको भन्दै उनले जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने कार्य गैरसंवैधानिक भएको उल्लेख समेत गरेका छन् ।विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसदमार्फत नै पुनर्स्थापित गरेको स्मरण गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुनेतर्फ ध्यानाकर्षण पनि गराउनुभएको छ ।