जनता टाइम्स

१२ आश्विन २०८२, आईतवार १७:२३

एमाले सचिवालय बैठक


काठमाडौं, असोज १२। नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित डेरामा आइतबार सुरू भएको छ। हालैको जेनजी आन्दोलन र त्यसपछि भएको सत्तापलटपश्चात् पहिलोपटक बसेको एमालेको औपचारिक बैठक भएकाले यसलाई देशभर राजनीतिक वृत्तले विशेष चासोका साथ हेरिरहेको छ।

बैठकमा हालैको जनआन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षति, त्यसबेला तत्कालीन सरकारको भूमिका, पार्टीभित्रको रणनीति र अबको राजनीतिक रोडम्यापबारे व्यापक छलफल हुने एमाले स्रोतले जनाएको छ।

पार्टी निकट नेताहरूका अनुसार जेनजी आन्दोलनले देशभर ठूलो राजनीतिक प्रभाव पारेको छ र त्यसपछि देखिएको सत्ता परिवर्तनले एमालेलाई पनि आन्तरिक रूपमा चुनौतीपूर्ण स्थितिमा पुर्‍याएको छ। यसैले सचिवालय बैठकलाई आगामी दिनमा पार्टीको दिशानिर्देश तय गर्ने निर्णायक प्लेटफर्मका रूपमा हेरिएको छ।

बैठकमा पार्टीको हालसम्मको भूमिकामाथि समीक्षा हुने र आन्दोलनपश्चात् उत्पन्न चुनौती तथा अवसरलाई व्यवस्थापन गर्ने विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ। एमालेभित्र अघिल्ला दिनमा नेतृत्व, संगठन सुदृढीकरण र आगामी निर्वाचन रणनीतिबारे पनि विभिन्न धारणा आएका कारण बैठकमा ती मुद्दा पनि समेटिने अनुमान गरिएको छ।

बैठकपछि पार्टीले जारी गर्ने आधिकारिक निर्णय वा विज्ञप्तिप्रति राजनीतिक वृत्त मात्र होइन, आम जनतामा पनि उत्सुकता देखिएको छ।