काठमाडौं, असाेज १३। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ ।
उहाँले मुलुक भूराजनीतिक द्वन्द्वको चपेटामा परेको, राष्ट्रिय शक्तिलाई कमजोर बनाउन सुनियोजित खेल भएको र नेपाललाई वैध सत्तालाई कमजोर बनाउने ‘डिप–स्टेट’ को प्रयोगशाला बनाइएकामा चिन्ता व्यक्त गर्नुभएको छ । ‘हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो, राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरूको खेलबाट हामीले आफूलाई जोगाउन सकेनौँ, हाम्रो देश पनि वैध सत्तालाई कमजोर बनाउने डिप–स्टेटको प्रयोगशाला बनाइयो’, पोखरेलले लेख्नु भएको छ ।
उहाँको यस अभिव्यक्तिले मुलुकमा बढ्दो अस्थिरता र अन्तर्राष्ट्रिय शक्ति–सन्तुलनको प्रभावबारे गम्भीर बहस सुरु भएको छ ।
महासचिव पोखरेलले आफ्ना विचारमा विशेष गरी नवयुवाप्रतिको असन्तोष र वर्तमान राजनीतिक नेतृत्वको कमजोरीलाई प्रष्ट्याउनु भएको छ । उहाँले लेख्नु भएको छ, ‘हामीले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरूको विश्वास जित्न सकेनौँ , उनीहरूको भावना र चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकेनौँ’, पोखरेलको धारणा छ ।
महासचिव पोखरेलले जस्ता षडयन्त्र भए पनि नेपाललाई लोकतन्त्र, बहुलवाद, समावेशिता र स्वाधीनताबाट पछि धकेल्ने प्रयास सफल नहुने बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘अर्थ नेपाललाई बहुल वाद, समावेशिता, लोकतान्त्रिक गणतन्त्र र स्वाधीनता एवं स्वाभिमानको बाटोबाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन, ढिलो-चाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने छ र फर्काइने छ’, उहाँले लेख्नु भएको छ ।
महासचिव पोखरेलले एमालेलाई मुलुकको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने पार्टीका रूपमा चित्रित गर्नु भएको छ । ‘ नव युवाहरूको विश्वास जितिनेछ, नेकपा एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिबद्ध छ र रहनेछ’, पोखरेलले लेख्नु भएको छ ।
पोखरेलले उल्लेख गर्नुभएको ‘भूराजनीतिक द्वन्द्व’ अहिले नेपालले भोगिरहेको संवेदनशील पाटो हो । भारत, चीन, अमेरिका लगायतका शक्तिहरूको चासो, लगानी, सुरक्षा नीति र रणनीतिले नेपालभित्र विभिन्न खालका द्वन्द्व र तनावलाई जन्माइरहेको छ । राजनीतिक विश्लेषकहरू भन्छन्, यस्ता द्वन्द्वले मुलुकको आन्तरिक शक्ति–सन्तुलनलाई मात्र नभई दलहरूभित्रको एकता र निर्णय क्षमतालाई पनि प्रभावित पारेको छ ।
सामान्यतया ‘डिप–स्टेट’ भन्नाले शक्ति संरचनाभित्रको अदृश्य प्रभावशाली तहलाई जनाउँछ । जसले वैध सरकारलाई कमजोर पार्दै आफ्ना स्वार्थअनुरूप राजनीतिको दिशा बदल्न सक्छ । नेपालको सन्दर्भमा यसले अन्तर्राष्ट्रिय प्रभावसँगै आन्तरिक शक्ति–केन्द्रहरूलाई समेत इङ्गित गर्ने विश्लेषण गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्