जनता टाइम्स

१३ आश्विन २०८२, सोमबार २२:२९

अलोकतान्त्रिक र अमानवीय गतिविधि देखाइन्छ भने त्यसको प्रतिरोध गर्न नेपाली युवा सधैँ तयार छन् : महेश बस्नेत 


काठमाडौं, असाेज १३। नेकपा (एमाले) का नेता महेश बस्नेतले आफू विरुद्ध निरन्तर नियोजित रूपमा चरित्र हत्या गर्ने प्रयास भइरहेको भन्दै ती गतिविधिप्रति कडा आपत्ति जनाउनुभएको छ।

उहाँले जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्युरोलाई पठाएको जवाफपत्र सार्वजनिक गरेर आफ्नो राजनीतिक छविलाई बदनाम गर्ने काम भएको उल्लेख गर्दै, यसलाई योजनाबद्ध अभियानको संज्ञा दिनुभएको छ। बस्नेतका अनुसार यस्ता क्रियाकलाप विगतमा पनि पटक–पटक हुँदै आएका छन्।

फेसबुकमार्फत प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘मेरो विरुद्ध उजुरी गर्ने पात्रले निरन्तर सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, गालीगलौज गर्ने, स्ट्याटस लेख्ने र लाइभ गर्ने कार्य गर्दै आएको छ। उसका विरुद्ध पनि धेरै जाहेरी दर्ता भए पनि कारबाही भएको छैन।’

बस्नेतले अमूर्त र लाक्षणिक आधारलाई अनुसन्धानको विषय बनाइनु अनुचित भएको टिप्पणी गर्दै गृह मन्त्रालयकै पहलमा साइबर टिममार्फत नागरिकमाथि चरित्र हत्या गर्ने खालका आक्रमण भइरहेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ‘यदि यस्तो विषयलाई अनुसन्धानको आधार बनाइन्छ भने हजारौँ जाहेरी नेपाल प्रहरीमा आउनेछन्। तिनलाई कारबाही गर्ने हिम्मत गृह मन्त्रीज्यूमा छ कि छैन ?’

उहाँले हालैको जेनजी आन्दोलनको नाममा बनेको सरकारले आफूलाई गिरफ्तार गर्ने तयारी गरेको दाबी गर्दै, मिडिया ट्रायलमार्फत बदनाम गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। तर उहाँले आफू अन्तिम साससम्म राष्ट्रियता र लोकतन्त्रको पक्षमा सत्य बोलिरहने दृढता व्यक्त गर्नुभयो।

एमाले अध्यक्षको वासस्थान व्यवस्थापनदेखि सार्वजनिक कार्यक्रम र सचिवालय बैठकमा आफ्नो सक्रिय भूमिकाप्रति सरकार आत्तिएको दाबी गर्दै उहाँले थप्नुभयो, ‘यो मेरो दायित्व हो, कसैले ह्यारेसमेन्ट गरेर मलाई दायित्वबाट पन्छ्याउन सक्दैन।’

बस्नेतले सरकारलाई चेतावनी दिँदै भन्नुभयो, ‘यदि अलोकतान्त्रिक र अमानवीय गतिविधि देखाइन्छ भने त्यसको प्रतिरोध गर्न नेपाली युवा सधैँ तयार छन्।’