काठमाडौं, असोज १४ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले आयोग गठनपूर्व नै निश्चित धारणा बनाएको तथ्य सार्वजनिक भएको भए उहाँले तत्काल राजीनामा दिनुपर्ने बताउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले कार्कीको गतिविधिले आयोगको काम निष्पक्ष हुन नसक्ने धारणा राख्नु भएको छ । ‘कार्कीले आयोग गठनपूर्व नै धारणा बनाइसकेको तथ्य सही हो भने उहाँको प्रतिवेदनले जे लेखे पनि त्यो विवादित हुने निश्चित छ, यस्तो अवस्थामा उहाँको राजीनामा नै उचित विकल्प हो’, भट्टराईले लेख्नु भएको छ ।
भट्टराईले भदौ २३ र २४ को घटनालाई ‘क्रूर हत्या र नियोजित आगजनी’का रूपमा व्याख्या गर्दै त्यसको निष्पक्ष छानबिन हुनु अपरिहार्य रहेको बताउनुभएको छ । जिम्मेवार व्यक्तिलाई कारबाहीमा ल्याउनाले मात्र पीडितले न्याय पाउने र मुलुकमा कानुनी शासनको विश्वास कायम हुने उहाँले धारणा राख्नु भएको छ।
प्रतिवेदनको स्वच्छता र निष्पक्षता कायम गर्न संयोजक कार्कीको राजीनामा वा प्रकाशित तथ्यको प्रमाणसहितको खण्डन अविलम्ब आउनु पर्ने उहाँको भनाइ छ । ‘म त्यो क्रूर हत्या र नियोजित आगजनीको निष्पक्ष छानबिन भएर जिम्मेवार व्यक्तिलाई कारबाही हुनु पर्दछ भन्ने चाहन्छु, तसर्थ त्यो प्रतिवेदनको स्वच्छताको लागि उहाँको राजीनामा वा प्रकाशित तथ्यको प्रमाण सहितको खण्डन अविलम्ब आउनु पर्छ’, भट्टराईले लेख्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्