जनता टाइम्स

१५ आश्विन २०८२, बुधबार १४:२४

गौरीबहादुर कार्कीको भूमिका शंकास्पद, राजीनामा दिनुपर्छ : प्रेस चौतारी नेपाल


काठमाडौं, असोज १५ । प्रेस चौतारी नेपालले जेनेजी आन्दोलनका क्रममा भएको गोली प्रहार र त्यसपछि भएका घटनाबारे छानबिन गरिरहेको आयोगको निष्पक्षता शंकास्पद रहेको भन्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई राजीनामा दिन माग गरेको छ।

बडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष गणेश पाण्डेले जारी गरेको विज्ञप्तिमा प्रेस चौतारीले भदौ २३ गते भएको गोली प्रहार र २४ गते आन्दोलनलाई दुरुपयोग गरी भएको लुटपाट, आगजनी तथा सम्पत्तिमा भएको क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ– ‘जेनेजी आन्दोलनकै नाममा सञ्चारमाध्यम र सञ्चारकर्मीका व्यक्तिगत सम्पत्तिमाथि आक्रमण, तोडफोड र लुटपाटका घटनाहरू भएका छन्, अहिले पनि सञ्चारकर्मीहरू देशभर धम्कीको वातावरणमा छन्, देशमा दण्डहीनताको अन्त्य गर्नुपर्ने चुनौती रहेको छ।’

प्रेस चौतारीले छानबिन आयोगका अध्यक्ष कार्की विभिन्न विषयमा निर्णय सुनाइसकेको जस्तो देखिएको भन्दै उहाँको पक्षधरता निष्पक्षताको मापदण्डसँग मेल नखाने दाबी गरेको छ। ‘तटस्थ र निष्पक्ष हुनुपर्नेमा कार्कीको जुन पक्षधरता देखिएको छ, यसले विधिको शासनको खिल्ली उडाउनुका साथै आयोगको निष्पक्षतामाथि समेत प्रश्न खडा गरेको छ। अध्यक्ष कार्कीको भूमिका प्रथम दृष्टिमै शंकास्पद देखिएकाले नैतिकताका आधारमा राजीनामा दिन माग गर्दछौँ’ वज्ञप्तिमा लेखिएकाे छ ।

प्रेस चौतारीले सरकारले एकातिर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताको राहदानी रोक्का गर्ने सिफारिस गरेर पूर्वाग्रही ढंगले ‘मिडिया ट्रायल’ चलाएको तर अर्कोतर्फ आन्दोलनपश्चात् भएका विध्वंसकारी घटनामा संलग्न दोषीमाथि कारबाही नगरी प्रहरीलाई नै रोक लगाएको आरोप लगाएको छ। चौतारीका अनुसार सरकारले गरेको यस्तो निर्देशनले अपराधीको मनोबल बढाउने मात्र नभई प्रहरीको कानुनी अधिकारमाथि समेत हस्तक्षेप गरेको छ।

प्रेस चौतारीले जेनेजी पुस्ताले उठाएका मागप्रति संवेदनशील बन्न, आगामी निर्वाचनको वातावरण निर्माण गर्न र नयाँ पुस्ताको विचारलाई सम्मानपूर्वक सुन्ने तथा छलफल गर्ने प्रक्रियामा राजनीतिक दलहरू सक्रिय हुनुपर्नेमा जोड दिएको छ।