जनता टाइम्स

१५ आश्विन २०८२, बुधबार १६:०३

बारामा बसको ब्रेक फेल हुँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु


हेटौँडा, असोज १५ । बाराको चुरियामाई मन्दिर नजिकै बुधबार बिहान भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जका अनुसार बिहान करिब १० बजे जनकपुरबाट काठमाडौं आउँदै गरेको ना ७ ख ८५३७ नम्बरको बस पथलैया–हेटौँडा सडकखण्डको उकालो चढ्ने क्रममा अचानक ब्रेक फेल हुँदा पछाडि रहेका दुई मोटरसाइकललाई किचेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार दुर्घटनामा बारा, फेटा गाउँपालिका–१ भरवलियाका २५ वर्षीय मंकेश्वर पटेल र पर्सा वीरगञ्ज महानगरपालिका–३१ की २६ वर्षीया कवितादेवीको मृत्यु भएको हो। उनीहरूलाई कलैया प्रादेशिक अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जनाइएको छ।

दुर्घटनामा मंकेश्वर पटेलकी २० महिनाकी छोरी तानेया पटेल, अर्को मोटरसाइकलका चालक २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल घाइते भएका छन्।

बस चालक सर्लाही लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि केही समय यातायात अवरुद्ध भए पनि पछि सञ्चालनमा आएको प्रहरीले जनाएको छ।