काठमाडौं, असोज १५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इण्डिजविरुद्धको ऐतिहासिक टी ट्वान्टि आई सिरिजमा नखेल्ने निर्णय गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सिरिजभरका लागि निलम्बन गरेको जनाएको छ ।
क्यानले आज जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ देखि ३० तारिखसम्म युएईस्थित सारजह क्रिकेट मैदानमा आयोजित नेपाल र वेस्ट इण्डिजबीचको पहिलो टी ट्वान्टि आई खेल सुरु हुनु ४५ मिनेट अगाडि सन्दीपले आफैँले नखेल्ने निर्णय लिएको उल्लेख गरिएको छ। उक्त निर्णयले टिम व्यवस्थापन, खेलाडी र समग्र नेपाली क्रिकेटमै नकारात्मक असर पारेको क्यानको दाबी छ।
‘टिम म्यानेजमेन्टको सिफारिसअनुसार पहिलो खेल लगत्तै बाँकी दुई खेलसहित सम्पूर्ण टी ट्वान्टि आई सिरिज अवधिभरको लागि उनलाई निलम्बन गरिएको ब्यहोरा जानकारी गराउन चाहन्छौँ,’ क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि वेस्ट इण्डिजविरुद्धको यो सिरिजलाई नेपाल क्रिकेटको इतिहासमै पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध खेलिएको टी ट्वान्टि आई प्रतियोगिता भनेर महत्त्वका साथ हेरिएको थियो। तर सन्दीपको अनपेक्षित निर्णयले टोलीको मनोबलमा असर परेको संघले जनाएको छ।
राष्ट्रिय टोली असोज २१ देखि ३० गतेसम्म ओमानमा आयोजना हुने आइसिसी मेन्स टी ट्वान्टी वर्ड कप एसिया /इएपी फाइनलमा सहभागी हुँदै छ। उक्त प्रतियोगितामा विजयी भई आगामी विश्वकपमा छनोट हुने लक्ष्य नेपाली टोलीको रहेको क्यानले जनाएको छ।
१६ सदस्यीय नेपाली टोली र अफिसियलहरू युएईबाट ओमान प्रस्थान गरिसकेका छन्। सचिव पारस खड्काले विज्ञप्तिमा सबै क्रिकेट प्रेमीहरूलाई टोलीलाई मनोबल बढाउने हौसला प्रदान गर्न आह्वान गर्नु भएको छ ।














प्रतिक्रिया दिनुहोस्