जनता टाइम्स

१६ आश्विन २०८२, बिहीबार ०९:३९

मौसम विभागले भन्यो – भारी वर्षा हुन्छ, असोज १८ गतेदेखि २० गतेसम्म उच्च सतर्कता अपनाउनू


काठमाडौं, १६ असोज । जल तथा मौसम विज्ञान विभागले १७ जिल्लामा असोज १८ गतेदेखि २० गतेसम्म उच्च सतर्कता अपनाउन अनुरोध छ ।

बुधबार बेलुका विभागको मौसम पूर्वानुमान शाखाले विज्ञप्ति जारी गर्दै विभागले बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ जिल्ला, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा जलवाष्प युक्त मनसुनी वायु प्रवेश गरेर आगामी असोज १७ गते बाट असोज २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ।

विभागका अनुसार नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका महाभारत, चुरे भई बहने ससाना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।

नेपालमा मनसुन बहिर्गमन भई नसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको महाशाखाको भनाई छ।उल्लेखित पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सम्भावित क्षति न्यूनीकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने पूर्वानुमान तथा पूर्वसूचनाहरू छिटो प्रवाह गरी पूर्वतयारी र आवश्यक पूर्वकार्यमा जुट्न विभाग विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सबै निकायहरू र आम सर्वसाधारणलाई विभागले अपिल गरेको छ।