जनता टाइम्स

१७ आश्विन २०८२, शुक्रबार १८:०२

अरनिको राजमार्गमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक


काठमाडौं, असोज १७ ।  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले  आज साँझबाट असाेज २० गतेसम्म अरनिको राजमार्गसहित जिल्लाभित्रका मुख्य तथा सहायक राजमार्गमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाउने भएकाे छ ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि कार्यालयले यस्ताे निर्णय गरेकेा हाे । सम्भावित बाढी, पहिरो, डुबान र चट्याङका जोखिम बढ्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकले पूर्वतयारी र प्रतिकार्यका लागि विभिन्न कदम चाल्ने निर्णय गरेको छ ।

बैठकले दमकल, एम्बुलेन्स र अन्य अत्यावश्यक सेवाका सवारीलाई भने सुरक्षित रुपमा सञ्चालन गर्न दिने भएकाे छ । वर्षाको मात्रा र क्षतिका आधारमा सुरक्षा निकायले अन्य समयमा पनि आकस्मिक रूपमा राजमार्ग बन्द गर्न सक्ने निर्णय भएकाे छ । बैठकले नदी किनार र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न नजिकका सुरक्षा युनिटलाई निर्देशन दिएको छ ।

उद्धार तथा राहतका लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखा, उद्योग वाणिज्य संघ र चौतारा अस्पताललाई तत्काल तयारी अवस्थामा रहन भनिएको छ । रेडक्रसले आफ्ना शाखा तथा स्वयंसेवक परिचालन गर्ने, उद्योग वाणिज्य संघले आवश्यक राहत सामग्री जुटाउने र चौतारा अस्पतालले आकस्मिक स्वास्थ्य उपचारका लागि स्रोत साधन तत्पर राख्ने निर्णय भएको हो ।

यस्तै, सडक अवरुद्ध भएमा सडक डिभिजन, पूर्वाधार कार्यालय, स्थानीय तह र निजी क्षेत्रसँग समन्वय गरी हेभी इक्विपमेन्ट तत्काल परिचालन गरेर सडक सुचारु गरिनेछ । जिल्लाभित्रका दमकल, एम्बुलेन्स र हेभी इक्विपमेन्ट चालकसहित २४ घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ ।

बैठकले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सबै स्थानीय तहलाई आपतकालीन कार्यसञ्चालन केन्द्र परिचालन गर्न, स्वयम्सेवक तथा स्रोत साधन सक्रिय बनाउन र तत्काल उद्धार तथा राहतका लागि तत्पर रहन अनुरोध गरेको छ ।

जरुरी परेमा सिन्धु–सुकुटे क्षेत्रमा रहेका राफ्टिङ व्यवसायीका बोट, कायाक र तिनका चालकलाई समेत उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गरी परिचालन गर्ने व्यवस्था गर्ने निर्णय गरिएको छ ।