काठमाडौं, असाेज १७। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी निर्माणमा तीन पुस्ताको संयोजन अपरिहार्य रहेको धारणा सार्वजनिक गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उहाँले पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजनका रूपमा व्याख्या गर्ने गरेको उल्लेख गर्दै एमालेले पनि पार्टी निर्माणमा तीन पुस्ताको संयोजनलाई अघि सारेको स्पष्ट गर्नुभएको हो ।महासचिव पोखरेलका अनुसार राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्तासम्म सीमित हुन सक्दैन । उहाँले खास समयमा देखिने असन्तोष र विद्रोहलाई अस्वाभाविक नभएको बताउँदै त्यसले समाज र राजनीतिको बाटो मात्र निर्धारित गर्ने अवस्था नआएको टिप्पणी गर्नुभएको छ ।
समाज र राजनीतिले नयाँ पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्ने प्रयास बताउँदै उहाँले तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनु नहुने स्पष्ट पार्नु भएको छ । समाज र राजनीतिको विकास बहुपुस्तीय संयोजनमार्फत मात्र सम्भव हुने र त्यही दृष्टिकोणलाई एमालेले आफ्नो पार्टी निर्माणमा आत्मसात् गरेको पोखरेलले स्पष्ट पार्नु भएको छ ।
उहाँले लेख्नु भएको छ- ‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ, नेकपा (एमाले) ले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको छ, राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन, खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ, समाज र राजनीतिले नयाँ पुस्ताको आकाङ्क्षालाई समेत सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन।’













प्रतिक्रिया दिनुहोस्