काठमाडौं, असोज १७ । आफूलाई जेनजी आन्दोलनको अगुवा भन्दै प्रधानसेनापतिदेखि राष्ट्रपतिसम्म वार्ताको लागि दौडधुप गर्ने हामी नेपाल नामक एनजिओ सञ्चालक सुदन गुरुङले सो संस्थालाई जेनजी आन्दोलनबाट अलग गर्ने घोषणा गर्नुभएको छ ।
आफ्ना दुई सहयोगीका साथ सामाजिक सञ्जाल फेसबुकमा देखिनु भएका गुरुङले आफ्नो संस्थाले जेनजी आन्दोलनका नाममा कतैबाट पनि डोनेसन नलिएको भए पनि साइबर सेनाहरूले सो संस्थाको विरुद्ध कुप्रचार गरेको भन्दै आन्दोलनबाट संस्थालाई अलग्याउने घोषणा गर्नुभएको हो । उहाँले सो संस्था माथि विभिन्न विदेशी संस्थाबाट सहयोग लिएको आरोप लागेको भन्दै त्यसको फेहरिस्त पनि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने बताउनुभएको छ ।
यति भन्दा भन्दै गुरुङले आफूले बोलेको भिडियोमा गुगल फारामकाे लिङ्क राखिएको भन्दै त्यसमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइतेहरूको प्रमाण खुल्ने कागजात सहितको विवरण भर्न आग्रह गर्नुभएको छ । सोही विवरणको आधारमा डोनर खोज्ने उहाँले आश्वासन दिनुभएको छ । त्यस्ता डोनर हामी नेपालले खोज्ने कि अरुनै माध्यमबाट खोजिने त्यस बारेमा उहाँले केही खुलाउनु भएको छैन ।
उहाँले हामी नेपाल सामाजिक काम गर्ने संस्था भएको बताउँदै विगतदेखि नै सो संस्थाले सामाजिक काम गर्दै आएको बताउनुभएको छ । अब पनि संस्था सामाजिक काममा लाग्ने उहाँले जानकारी दिनुभएको छ । उहाँको सो अभिव्यक्तिले हामी नेपाली नामक संस्थाले अब जेनजी आन्दोलनका मृतक र घाइतेको नाममा डलर खेती गर्ने त होइन भन्ने शङ्का पैदा गरेको छ ।
आन्दोलनमा ज्यान गुमाएकाका परिवार र घाइतेको लागि विदेशीसँग सहयोग खोज्ने होइन, डलरको खेती गर्ने होइन त्यो काम नेपाल सरकारले नै गर्नुपर्छ भन्नु पर्नेमा उहाँहरूको विवरण सङ्कलन गरेर दातृ खोजी गर्छौँ भन्ने कुरा एउटा आन्दोलनकारीले बोल्न सुहाउने विषय होइन । यसले आन्दोलन र आन्दोलनमा ज्यान गुमाएका तथा घाइतेको नै अपमान हुने छ ।
त्यसो त एकाथरि जेनजीहरुले जेनजी आन्दोलनलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह र हाम्रो नेपालका सुदन गुरुङले हाइज्याक गरेको आरोप लगाइरहेका छन् । उनीहरूले यो हाइज्याकिङको विरुद्ध आन्दोलन गर्ने घोषणा समेत गरिसकेका छन् । यस्तो बेला सुदनको यो अभिव्यक्ति आउनुलाई रहस्यमय मानिएको छ ।













प्रतिक्रिया दिनुहोस्