जनता टाइम्स

१८ आश्विन २०८२, शनिबार ००:०३

जनकपुरधाम उपमहानगरपालिका–२० मा दुई समुदायबिच झडप, निषेधाज्ञा जारी


जनकपुरधाम, असोज १७। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रूपैठामा दुई समुदायबिच फेरि तनाव बढेको छ। दशैंको अवसरमा दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्का समुदायले ढुङ्गामुढा सुरु गरेपछि झडप भएको हो।

झडपका क्रममा अर्को समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ। आक्रोशित भीडले केही घरमा पनि आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिनुभयो।

प्रहरीले झडप नियन्त्रण र थप क्षति रोक्न २३ सेल अश्रुग्याँस प्रहार गरेको छ। झडपका क्रममा ढुङ्गा मुढाबाट केही प्रहरी र स्थानीय नागरिक पनि घाइते भएका छन्।

अवस्था बिग्रिएपछि स्थानीय प्रशासनले वडा नम्बर २० का विभिन्न स्थानमा साँझ ६:३० बजेदेखि निषेधाज्ञा जारी गरेको छ। आदेश उल्लङ्घन गरेमा कानुन अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।