जनता टाइम्स

१८ आश्विन २०८२, शनिबार ०९:५०

लगातार वर्षा र विपद् जोखिमका कारण लामो दूरी तथा काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारी साधन तीन दिनलाई बन्द


काठमाडौं, असोज १८ । देशभर निरन्तर वर्षा भइरहेका कारण विपद् जोखिम न्यूनीकरणका लागि लामो दूरीका साथै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सबै प्रकारका सवारी साधन आवतजावतमा तीन दिनका लागि रोक लगाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले शनिबार सार्वजनिक गरेको सूचना अनुसार असोज १८, १९ र २० गतेसम्म यस्तो व्यवस्था गरिएको हाे ।

प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महतले जारी गर्नुभएको सूचना अनुसार जल तथा मौसम विज्ञान विभागले आज असोज १८ देखि २० गतेसम्म कोशीदेखि लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहने र केही स्थानमा भारीदेखि अति धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ । यस्तो वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद् उत्पन्न हुने उच्च सम्भावना रहेकाले जोखिम न्यूनीकरण गर्ने उद्देश्यले लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका गाडी तथा काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारी साधन तीन दिनसम्म पूर्ण रूपमा रोक लगाइएको स्पष्ट पारेको छ । यस क्रममा प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षानिकायलाई उक्त निर्णयको कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ ।

प्राधिकरणले अत्यावश्यकबाहेक यात्रा नगर्न र सकेसम्म घरमै सुरक्षित बस्न अपिल गरेको छ । साथै विपद् सम्बन्धी सूचना र अद्यावधिक जानकारीका लागि आधिकारिक स्रोत– रेडियो, टेलिभिजन, अनलाइन समाचार पोर्टल र सामाजिक सञ्जालका आधिकारिक पेजमार्फत मात्र जानकारी लिन समेत आग्रह गरिएको छ ।