जनता टाइम्स

१८ आश्विन २०८२, शनिबार १९:२९

उर्लियो रोशी खोला, बगायो बीपी राजमार्ग


काठमाडाैं, असोज १८ । लगातारको वर्षाका कारण राेशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्ग ठाउँ ठाउँमा बगाएको छ। शनिबार साँझ खाेलामा ठुलाे बाढी आएको र बाढीले सडकका विभिन्न भागमा क्षति पुर्याएको नेपालथोकबाट स्थानीय राज मैनालीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार गत वर्ष बाढीले बगाएको स्थानलाई उकासेर अस्थायी रूपमा सञ्चालनमा ल्याइएको सडक खण्ड यसपटक पुनः बाढीले बगाएको हो। बाढीका कारण रोशी खोलाको किनारका भागमा बनेका संरचनासमेत क्षतिग्रस्त भएका छन्।

शनिबार बिहानदेखि नै लगातार वर्षा भएपछि बिपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । बिपी राजमार्ग हुँदै काठमाडौं आएका सवारी साधनलाई नेपालथोकमा नै रोकिएको थियो भने काठमाडौंबाट हिँडेका यातायात साधनलाई भकुण्डेबेसीबाट फर्काइएको थियो । गत वर्षको असोज महिनामा पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बीपी राजमार्गकाे धेरै भाग बगिएकाे थियाे। त्यसपछि अस्थायी मर्मत गरी सडक सञ्चालनमा ल्याइएको थियो। तर, यो वर्षको अविरल वर्षाले फेरि ती स्थानहरूमा क्षति पुर्‍याएको छ।

स्थानीयवासीका अनुसार खोलाको बहाव अझै बढ्दो क्रममा छ र निरन्तर वर्षा भइरहेकाले थप क्षति हुने आशंका गरिएको छ। सडक विभाग र सुरक्षाकर्मीहरूले जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।