जनता टाइम्स

१८ आश्विन २०८२, शनिबार २०:५०

राष्ट्रिय युवा संघ नेपालले कार्यकर्तालाई जनताको सेवा र सुरक्षामा खटिन गर्याे आह्वान


काठमाडौं, असोज १८ ।नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभर भइरहेको अविरल वर्षाका कारण उत्पन्न विपद्‌पूर्ण अवस्थाको बीचमा आफ्ना कार्यकर्तालाई जनताको सेवा र सुरक्षामा सक्रिय रूपमा खटिन आह्वान गरेको छ।

संघका अध्यक्ष क्षितिज थेबेद्वारा शनिबार जारी विशेष सर्कुलरमा युवा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जनताको साथमा रही उद्धार, राहत र सहयोगका गतिविधिमा जुट्न निर्देशन गरिएको छ।

सर्कुलरमा विपद् जोखिम भएका स्थानहरू पहिचान गरी सतर्क रहन, उद्धार तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउन र जनएकताको भावना सृजना गर्न कार्यकर्ताहरूलाई आग्रह गरिएको छ। साथै, पीडित नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, खाद्यान्न र अत्यावश्यक सामग्री वितरणमा सहयोग गर्न समेत संघले अनुरोध गरेको छ।

त्यसैगरी, विपद् व्यवस्थापनका क्रममा स्थानीय निकाय, सुरक्षा निकाय र सामाजिक संस्थाहरूसँग समन्वय गर्दै कार्य गर्न तथा सम्बन्धित प्राधिकरणले जारी गर्ने सूचना र निर्देशन पालना गर्न पनि संघले सबै तहका संरचनालाई निर्देशन दिएको छ।

देशभर निरन्तर भारी वर्षा भइरहेको र मौसम विज्ञान विभागले असोज २० गतेसम्म समेत भारी वर्षा हुने पूर्वानुमान गरेको सन्दर्भमा संघले सम्भावित जोखिम क्षेत्रका युवाहरूलगायत सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।