जनता टाइम्स

१८ आश्विन २०८२, शनिबार २३:३८

वैकल्पिक बाटो हुँदै चरिकोट पुगेका यात्रुलाई दोलखाका स्थानीय र प्रशासनको सहयोग


दोलखा, असोज १८। विपी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटो प्रयोग गरेर विभिन्न जिल्लाबाट चरिकोट पुगेका यात्रुहरू गन्तव्यतर्फ अघि बढ्न नसकेर अलपत्र परेका छन्।

ती यात्रुलाई दोलखाका स्थानीयवासी, व्यवसायी र स्थानीय प्रशासनले सहयोग प्रदान गरेका छन्। चरिकोटमा रहेका होटल, सामाजिक संस्था र घरधनीहरूले यात्रुहरूका लागि निःशुल्क खाना र आवासको व्यवस्था मिलाएका छन्। दोलखाका कतिपय परिवारहरूले समस्यामा परेका यात्रुलाई आफ्नै घरमा बास र खाना उपलब्ध गराएका छन् भने होटल सञ्चालकहरूले पनि मानवीय आधारमा सहयोग गरेका छन्।

सदरमुकाम चरिकोटमा यात्रु व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गरूढ दलका गणपति लोकसागर कटुवाल, प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, सशस्त्र प्रहरी बल गुल्म नं. १८ का गुल्मपति संजय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले, साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा र उद्योगी व्यवसायीहरू सक्रिय रूपमा खटिएका छन्।

प्रजिअ दाहालका अनुसार विपी राजमार्ग बन्द भएपछि काठमाडौंतर्फ जाने यात्रुहरू वैकल्पिक मार्ग हुँदै दोलखाको चरिकोटसम्म पुगेका हुन्। करिब एक हजारभन्दा बढी यात्रुहरू अहिले चरिकोटमा रोकिएका छन्। ‘हामीले सबै यात्रुहरूलाई बास र भोजनको व्यवस्था मिलाएका छौं,’ प्रजिअ दाहालले बताउनुभयो।

उहाँका अनुसार अधिकांश यात्रुहरूलाई स्थानीय होटल र घरधनीहरूले निःशुल्क रूपमा सहयोग गरेका छन्। स्थानीय प्रशासनले यात्रुहरूलाई असुविधा नहोस् भनेर आवश्यक समन्वय र व्यवस्थापनका कामहरू अघि बढाइरहेको जनाएको छ।