जनता टाइम्स

१९ आश्विन २०८२, आईतवार २०:१२

सिन्धुलीमा अरिङ्गालले चिल्दा एकको मृत्यु, तीनजना घाइते


काठमाडौं, १९ असोज ।  अरिङ्गालले चिल्दा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। आइतबार दिउँसो घरमै बसिरहेको बेला अरिङ्गालले चिल्दा सिन्धुलीको मरिण गाउँपालिका– २ कटन जल्केनीकी ३० वर्षीया रुकुमी रानाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार रानाको शरीरको विभिन्न भागमा अरिङ्गालले चिल्दा अवस्था गम्भीर बनेको थियो। घटना लगत्तै प्राथमिक स्वास्थ्य कार्यालय कपिलाकोटमा उनको उपचारका लागि पु¥याइएको भएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। यस्तै अरिङ्गालले चिल्दा सोही ठाउँका वर्ष ४१ का सोम बहादुर राना, वर्ष ९ का कुशल राना र वर्ष १ की एक जना बालिका घाइते भएका छन्। उनीहरूको पनि अवस्था गम्भीर रहेको छ। घाइतेहरूको उपचारका अस्पताल लगिएको छ। उनीहरूको पनि शरीरका विभिन्न भागमा अरिङ्गालले चिलेको बताइएको छ। उनीहरूलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको हो। मृतक रानाको आवश्यक अनुसन्धान गरी पोस्टमार्टमको तयारी गरिएको प्रहरीले जनाएको छ।