काठमाडौं, असोज १९। विद्यार्थी नेता धर्मराज तिमिल्सिनाले जेन–जी आन्दोलनका नाममा भएको आगजनी, तोडफोड, लुटपाट तथा आतङ्क फैलाउने कार्यमा संलग्नलाई कारबाही गर्न गृह मन्त्री ओमप्रकाश अर्यालसमक्ष लिखित निवेदन बुझाउनु भएको छ।
तिमिल्सिनाले गृह मन्त्रीलाई दिइएको निवेदनमा आन्दोलनमा प्रवेश गरेका ‘अराजक तत्त्व’ ले देशका विभिन्न स्थानमा सार्वजनिक र निजी सम्पत्तिमा व्यापक क्षति पुर्याएको, नागरिकमाथि निर्मम आक्रमण र आतङ्क फैलाइएको उल्लेख छ। सामाजिक सञ्जालमा देखिएका फोटो, भिडियो तथा प्रहरीलाई प्राप्त सूचनाका आधारमा केही व्यक्तिहरू पक्राउ गरिएकामा मन्त्रालयद्वारा जारी निर्देशनले ती प्रक्रिया रोकिन पुगेको दाबी निवेदनमा गरिएको छ । निवेदनमा लेखिएको छ, ‘यस्तो गतिविधिले सर्वसाधारण नागरिकको जीवन त्रासदीपूर्ण बनेको छ, नेपालको संविधान बमोजिम प्राप्त मौलिक हक तथा मानव अधिकारको हरण भएको छ र शान्तिपूर्ण भेला हुन पाउने अधिकारको दुरुपयोग गरी शान्ति सुरक्षामा प्रतिकूल असर परेको छ।’
तिमिल्सिनाले मुलुकी अपराध संहिता, संगठित अपराध निवारण ऐन, स्थानीय प्रशासन ऐन र सार्वजनिक सम्पत्ति (संरक्षण) ऐन लगायतका प्रचलित कानुनी प्रावधानहरू लागू गरी घटनामा संलग्न सबैलाई छानबिन गरी कडा कारबाही गर्न गृह मन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ। साथै तोडफोड, आगजनी र लुटपाटबाट प्रभावित पीडितलाई न्याय दिलाउन र सार्वजनिक तथा निजी सम्पत्ति तथा नागरिकको शान्ति सुरक्षाको संरक्षणका लागि प्रभावकारी निवारक उपाय तुरुन्त लागू गर्न पनि माग गरिएको छ ।
आन्दोलनलाई अनियन्त्रित छोड्दा अपराधकर्मीको मनोबल बढ्ने र नेपाल प्रहरी लगायत सुरक्षाकर्मीको मनोबल घट्ने भएकाले विधिको शासन स्थापना गर्न उहाँले माग गर्नु भएको छ। तिमिल्सिनाले विध्वंसात्मक गतिविधि मात्र नभई ती गतिविधिका योजनाकार र प्रेरकहरूलाई समेत कारबाहीको दायरामा ल्याउन माग गर्नु भएको छ ।














प्रतिक्रिया दिनुहोस्