जनता टाइम्स

२ कार्तिक २०८२, आईतवार १६:५६

रास्वपाकी नेतृ तोसिमा कार्कीको असन्तुष्टि :  पार्टीमा हामीले खोजेको रिफर्मेसन सचिवालय विस्तार हाेइन, पुनर्गठन हाे


काठमाडौं, कात्तिक २। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीको हालको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्नु भएकाे छ ।

उहाँले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै पार्टीभित्र उठाइएको रिफर्मेसन (सुधार) एजेन्डा अपेक्षित दिशामा अघि नबढेको बताउनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘पार्टीमा रिफर्मेसनको एजेन्डा उठिरहेको थियो, त्यसैका लागि विस्तारित बैठक तोकिएको थियो, महाधिवेशन कहिले गर्ने, के गर्ने भन्ने निर्णयका लागि दुई हप्ताभित्र हुने भनिएको बैठकसमेत नबोलाई सचिवालय विस्तार गरिएको छ, हामीले खोजेको रिफर्मेसन यो होइन।’

डा. कार्कीका अनुसार सुधारको अर्थ केवल संरचनात्मक विस्तार होइन, बरु कार्यकारी नेतृत्वमा परिवर्तन र संगठनात्मक पुनर्गठन हो। उहाँले स्पष्ट रूपमा लेख्नुभएको छ, ‘रिफर्मेसनको अर्थ कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो।’

उहाँले पार्टीभित्र थप लोकतान्त्रिक अभ्यास आवश्यक रहेको उल्लेख गर्दै कार्यशैली सुधारको आवश्यकता औँल्याउनुभएको छ। उहाँले लेख्नुभएको छ, ‘हामी थप लोकतान्त्रिक हुन जरुरी छ, कार्यशैली सच्याउन जरुरी छ, पार्टीका गतिविधिहरूमा संगठनका जरा–जराले अपनत्व महसुस गर्न सक्नुपर्छ।’

डा. कार्कीले आउँदो विस्तारित बैठकमा पार्टीको बृहत् सहभागिता र मतदान अधिकार सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। ‘विस्तारित बैठकमा संगठनको बृहत् सहभागिता र मतदान अधिकार सुनिश्चित गरियोस् भन्ने माग गर्दछु’, उहाँले लेख्नु भएकाे छ ।

उहाँले  पार्टी बैठकको औचित्यमाथि पनि प्रश्न उठाउनुभएको छ। उहाँले लेख्नुभएको छ, ‘यदि मतदान अधिकार नदिने हो भने देशभरिबाट कार्यकर्ताहरूलाई चितवनसम्म बोलाएर, समय, पैसा र श्रम खर्च गराएर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य रहँदैन।’