काठमाडौं, कात्तिक २। ‘जेनजी आन्दोलन’का क्रममा तीनकुनेस्थित प्रहरीमाथि आक्रमण गरी बर्दी खाेल्न लगाएको आरोपमा दोलखा घर भएका एक व्यक्ति पक्राउ परेका छन् ।
दोलखाको शैलुङ गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३२ जडिबुटी बसोबास गर्दै आएका ४८ वर्षीय गौतम घिसिङलाई प्रहरीले पक्राउ गरेको हो । उनले भदौ २४ गते तीनकुनेमा प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न लगाएको घटनामा संलग्नता देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरिएको भिडियो तथा फुटेजका आधारमा घिसिङलाई नियन्त्रणमा लिइएको हो । उनी माथि प्रहरी वृत्त नयाँबानेश्वरमा आगजनी, प्रहरी टोलीमाथि आक्रमण गरी बर्दी खोल्न लगाउने, वाग्मती खोलामा साङ्घातिक आक्रमण गर्ने तथा हतियार र गोलीगठ्ठा लुटपाट गर्नेजस्ता अभियोग लगाइएको छ ।
भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा आन्दोलनकारीहरूले प्रहरी चौकीमा आक्रमण गरी हतियार लुट्नुका साथै प्रहरीलाई बर्दी खोल्न लगाई कुटपिट गर्न थालेपछि केही प्रहरी आत्मरक्षाका लागि वाग्मती नदीमा हामफालेका थिए ।
पक्राउ परेका घिसिङलाई काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी कसुरमा ८ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्