काठमाडौँ, कात्तिक ७। कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन बालिकाको मृत्यु भएको छ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत पर्ने कुलरिया नहरमा नुहाउने क्रममा ती बालिकाहरू डुबेका हुन्। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. १५ की जुम्ल्याहा दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं, तथा जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सिनाकाे नुहाउने क्रममा डुबेर मृत्यु भएकाे हाे ।
निशा र मानुषी टीकापुरस्थित जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा अध्ययनरत थिए भने सुलोचना जानकी गाउँपालिका–१ दुर्गौलीस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्दै थिइन्।
निशा र मानुषी आफन्तकहाँ गएका बेला नहरमा नुहाउने क्रममा डुबेका हुन्। बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्