रामेछाप,कात्तिक ८ । विसं १८२४ को प्रसिद्ध सिन्धुलीगढी युद्धमा जनस्तरबाट नेपाली सेनालाई अतुलनीय सहयोग पुर्याउने वीर जनसेनानी स्वर्गीय रामचन्द्र प्रसाईँको सालिक उहाँकै जन्मथलो रामेछापको मन्थली नगरपालिका–७, मुगिटारामा अनावरण गरिएको छ ।
शनिबार आयोजित समारोहमा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ र वडा नं. ७ का अध्यक्ष भुवनहरि प्रसाईँले संयुक्त रूपमा सालिक अनावरण गर्नुभयाे । कार्यक्रममा जनसेनानी प्रसाईँको राष्ट्र–निष्ठा, त्याग र योगदानका विषयमा स्थानीय नागरिक, शिक्षक, जनप्रतिनिधि र इतिहासप्रेमीहरूले चर्चा गर्नुभयाे ।
विसं १८२४ मा काठमाडौंका राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहको घेराबन्दीबाट जोगिन बंगालस्थित ब्रिटिस इष्ट इन्डिया कम्पनीसँग सैन्य सहयोग मागेपछि कप्तान जर्ज किनलक (Captain George Kinloch) को नेतृत्वमा करिब २५ सय अंग्रेज सैनिक भारतको पटना हुँदै मकवानपुरतर्फ अघि बढेका थिए। त्यो सूचना रामेछापको मुगिटार निवासी रामचन्द्र प्रसाईँले समयमै पाउनु भएको थियो। उहाँले उक्त खबर राजा पृथ्वीनारायण शाहलाई लेखेर पठाउँदै विदेशी सेनाको प्रवेश रोक्न आग्रह गर्नुभएको थियो। त्यसबेला पृथ्वीनारायण शाहले युद्धको तयारीमा आर्थिक अभाव रहेको उल्लेख गर्दै प्रसाईँसँग सहयोग माग्नु भएको थियो।

इतिहासका लिखत अनुसार, रामचन्द्र प्रसाईँले तत्कालीन २ हजार रुपैयाँ नगद, रासनपानी र करिब ३ सय स्थानीय लडाकुहरू लिएर सिन्धुलीगढी युद्धमा प्रत्यक्ष सहभागिता जनाउनुभएको थियो। स्थानीय दीपक प्रसाईँका अनुसार सो सहयोगको लिखित प्रमाण आज पनि प्रसाईँ परिवारसँग सुरक्षित छ। नेपाली पक्षको बल, बुद्धि र जनसहयोगको परिणामस्वरूप अंग्रेज सेनाको त्यो पहिलो नेपाल प्रवेश असफल भयो। सिन्धुलीगढीमा अंग्रेजहरूले ठूलो क्षति बेहोरेर फर्किनुपर्यो र नेपाल स्वतन्त्र रहन सफल भयो।
युद्धपछि प्रसाईँको योगदानको कदरस्वरूप पृथ्वीनारायण शाहले त्रिवेणी महादेव मन्दिरको नाममा गुठी स्थापना गरी नियमित पूजा चलाउने व्यवस्था मिलाउनुभएको थियो। आजसम्म पनि सो गुठीबाट पूजा–अर्चना चल्ने परम्परा जीवित छ।

सालिक अनावरण समारोहमा बोल्दै नगरप्रमुख लब श्रेष्ठले जनसेनानी प्रसाईँको योगदान नेपाली इतिहासका सुनौलो पानामा लेखिनुपर्नेमा साे नलेखिएकाे भन्दै खेद व्यक्त गर्नुभयाे। उहाँले भन्नुभयो, ‘देश बनाउन र जोगाउन रामेछापले दिएको योगदान इतिहासमा ओझेलमा पारिएको छ, इतिहास लेख्नेहरूले रामेछाप र यहाँका वीर सपूतहरू माथि अन्याय गरेका छन्, अब इतिहास सच्याउने समय आएको छ।’
उहाँले सिन्धुलीगढीसँगै युद्धका बेला प्रयोग भएका रामेछापका चिसापानी, तिल्के स्थान र पकरबास गढीहरूको समेत इतिहासमा उचित उल्लेख नभएको गुनासो गर्नुभयाे । याे रामेछापकाे लागि दुर्भाग्य भएकाे उहाँले बताउनुभयाे ।
वडाध्यक्ष भुवनहरि प्रसाईँले राष्ट्र जोगाउन योगदान गर्ने रामचन्द्र प्रसाईँलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गर्दै त्यसका लागि स्थानीय र राष्ट्रिय स्तरमा पहल भइरहेको जानकारी दिनुभयाे। उहाँले मुगिटारमा जनसेनानी रामचन्द्र प्रसाईँ स्मृति संग्रहालय स्थापना गर्ने योजना अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे ।

‘उहाँको योगदान केवल रामेछापकोमात्र गौरव होइन, सम्पूर्ण नेपालीको स्वाभिमानसँग जोडिएको इतिहास हो,’ उहाँले भन्नुभयाे । ‘आगामी पुस्ताले उहाँको त्याग र देशप्रेमबाट प्रेरणा लिन सकून् भन्ने उद्देश्यले हामी संग्रहालय निर्माणको तयारीमा लाग्छाैँ, सबैबाट सहयाेग हाेस्’, प्रसाईँले भन्नुभयाे ।
इतिहास अनुसार, जनसेनानी रामचन्द्र प्रसाईँको जन्म विसं १७७३ वैशाख पूर्णिमाको दिन रामेछापको हालको मन्थली नगरपालिका–७, भटौलीको मुगिटारामा भएको थियो भने उहाँको निधन विसं १८३१ मा भएको मानिन्छ। जीवनभर देशप्रेम, जनसहयोग र स्वतन्त्रताको पक्षमा खडा रहनुभएका प्रसाईँ नेपाली जन–इतिहासका अग्रणी पात्रका रूपमा स्मरणीय हुनुहुन्छ ।
सालिक अनावरणसँगै रामेछापका स्थानीयहरूमा आफ्ना पुर्खाको योगदान राष्ट्रकै गौरवको रूपमा स्थापित गर्ने भावना झन् प्रगाढ बनेको छ। कार्यक्रममा सहभागी नागरिकहरूले रामचन्द्र प्रसाईँजस्ता जनसेनानीहरूकै कारण आज नेपाल स्वतन्त्र भएकाे बताउँदै उहाँहरूको योगदानलाई सम्मान गर्नु देशप्रेमको सबैभन्दा उच्च रूप भएकाे बताउनुभयाे ।













प्रतिक्रिया दिनुहोस्