जनता टाइम्स

८ कार्तिक २०८२, शनिबार २१:२७

फूलैफूलले सिँगारियो खाँडादेवी, दर्शनार्थी पनि बढे 


रामेछाप, कात्तिक ८ । अहिले खाँडादेवी मन्दिर परिसर फूलै फूलले सिँगारिएको छ ।

मन्दिर परिसमा विभिन्न रङ्गका सयपत्री फूल ढकमक्क फूलेका छन् । वरिपरि फुलेको फुलले खाँडादेवी मन्दिर बेहुली जस्तै सिँगारिएको छ । मन्दिर परिसरमा फुलेको फूलले मन्दिर दर्शन गर्न जानेलाई थप आनन्दित बनाएका छ ।

रामेछापको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवीमा तिहार सकिएसँगै दर्शनार्थीहरुको पनि भिड बढेको छ । मन्दिरमा दर्शन गर्नेहरू लाइन निक्कै लामो देखिन लागेको छ ।

दर्शन गर्नेका साथै विभिन्न कार्यसिद्धिको कामना गर्दै भाकल गरेकाहरू कार्य सफल भएपछि बोका, पाठी, भाले, परेवा तथा राँगा, हाँस सहितको पञ्चवली लिएर खाँडादेवी मन्दिर जानेहरूको भिड छ ।

दशैँकाे बेलमा अधिक भिड भएको खाँडादेवीमा दशैँको एकादशीको दिन रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग बगाएपछि मन्दिरमा दर्शन गर्न आउने मानिसहरूको सङ्ख्या घटेको थियो । बाढीले बगाएको सडक बनाउन एक हप्ता भन्दा बढी समय लागेको र त्यस पछि लगत्तै तिहार लागेको कारण मन्दिर आउने दर्शनार्थीको सङ्ख्या केही कम थियो । तिहार सकिएसँगै मन्दिर आउने दर्शनार्थीहरुको सङ्ख्या बढेको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो । अहिले मन्दिरसम्म नै साना सवारीका साथै बसहरू समेत आउन सक्ने भएकोले दर्शनार्थीलाई खाँडादेवीको दर्शनमा आउन पनि उहाँले आह्वान गर्नुभयो ।

खाँडादेवीलाई निक्कै पुरानो ऐतिहासिक धार्मिक शक्तिपीठ मानिन्छ । मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि दरबारबाट चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यसले यसको पुरातात्विक महत्त्व झल्काउँछ ।

नेपाल एकीकरण गर्ने क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र सो लडाइँ जित्न खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनु भनी आदेश दिनुभएको र बडादशैँमा सो बलि दिने गरिएको बताइन्छ । दरबारबाट पठाइने पूजा खर्च विसं २००९ बाट पठाउन छाडेपछि पुजारीहरुले आफैँले खर्च उठाएर सो पूजा गर्दै आएका थिए । अहिले खाँडादेवी विकास कोषले महानवमी र चैते दशैँमा सरकारी पूजा गर्दै आएको छ भने दैनिक पूजा र अन्य सम्पूर्ण व्यवस्थापनको काम पनि कोषले गर्दै आएको छ ।

२०७० सालमा खाँडादेवी  विकास कोष स्थापना भएपछि मन्दिरलाई व्यवस्थित गर्ने तथा नियमित पूजा लगायतका कामका साथै सामाजिक काम समेत कोषले गर्दै आएको  अध्यक्ष तामाङले बताउनुभयो ।