जनता टाइम्स

९ कार्तिक २०८२, आईतवार ०९:३७

जेनजी आन्दोलनमा साँखुस्थित प्रहरी प्रभागमा आगाे लगाउने दुईजना दुई पक्राउ,  प्रहरीकाे हतकडी चाेर्ने एकजना बालाजुबाट नियन्त्रणमा


काठमाडौं, कात्तिक ९। जेनजी आन्दोलनका क्रममा काठमाडौंको साँखुस्थित प्रहरी प्रभागमा भएको आगजनी र प्रहरीमाथि भएको कुटपिट घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ घर भई हाल काठमाडौं शंखरापुर नगरपालिका–७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र सोही नगरपालिकाको वडा नम्बर ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन्।

प्रहरी प्रभाग साँखुका अनुसार, उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ। आगजनी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने घटनामा उनीहरूको संलग्नता पुष्टि भएपछि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

यस्तै, जेनजी आन्दोलनकै क्रममा लुटपाट भएको हतकडी र सोको चाबीसमेतसहित झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ पनि पक्राउ परेका छन्।

श्रेष्ठलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट नियन्त्रणमा लिइएको हो। उनलाई समेत थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमै राखिएको प्रहरीले जनाएको छ।

साँखु प्रहरी प्रभागमा भएको आगजनी र कुटपिटको घटनापछि प्रहरीले विभिन्न भिडियो फुटेज र प्रत्यक्षदर्शीका बयानका आधारमा संलग्नहरू पहिचान गरी पक्राउ अभियान चलाइरहेको जनाएको छ।