जनता टाइम्स

९ कार्तिक २०८२, आईतवार १२:५५

मन्त्री बन्न लागेका खगेन्द्र सुनार : स्वास्थ्यकर्मी माथि हातपात, प्रेमीका माथि शोषण र साइबर अपराधका फरार अभियुक्त 


काठमाडौं, कात्तिक ९ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्री बनाउन लागेका एक पात्र विभिन्न अपराधका फरार अभियुक्त भएको खुलेको छ ।

उहाँले आज श्रम तथा रोजगार मन्त्री बनाउन लाग्नु भएको खगेन्द्र सुनार विभिन्न मुद्दाका फरार अभियुक्त भएको पाइएको छ । मन्त्री बन्न लागेका सुनारको सुर्खेत अदालतमा मुद्दा विचाराधीन छ । उहाँ विरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपातको मुद्दा छ । सो मुद्दामा सुनार विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उहाँ अदालतको नजरमा फरार अभियुक्त हो ।

सुनारका विरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पनि विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । सो मुद्दाको पनि उहाँ फरार अभियुक्त हे ।

सुनार विरुद्ध आफ्नी प्रेमिकालाई चरम घरेलु हिंसा गरेको तथा रकम समेत हिनामिना गरेको आरोप पनि छ ।

‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजक समेत रहेका सुनारमाथि सर्वोच्च अदालत जलाउने अभिव्यक्ति दिएकासहित विभिन्न व्यक्तिलाई धाक-धम्की र गालीगलौज गरेको तथा ठगीमा संलग्न भएको आरोपमा दर्जनौँ उजुरी समेत छन् ।

सुनार विरुद्ध अधिवक्ता मनीषा गौतमले २०८२ बैशाख २० गते सर्वोच्च अदालतमा अदालतको अपहेलासम्बन्धी मुद्दा दायर गर्नुभएको छ । सो मुद्दा दायर गरेपछि सामाजिक सञ्जाल मार्फत गौतका विरुद्ध सुनारले अति अश्लील गाली गलोज गर्नुभएको यो । सामाजिक सञ्जाल मार्फत निम्नस्तरका गाली गर्ने तथा मानिसहरूलाई धम्क्याउने उहाँको पेसा जस्तै बनेको देखिन्छ ।

दैलेखमा जन्मिएका खगेन्द्र सुरुमा सुर्खेत बसेर सगरमाथा टेलिभिजनमा काम गर्दथे । सुनार त्यति बेला नै ठगीको आरोपमा जेल परेका थिए ।

दैलेखका सेते दमाई र रुकुम पश्चिमका नवराज बिक सहित ६ युवा मारिएको घटनाको आगुवाई गरेपछि दलित अभियन्ताको रूपमा स्थापित भएका सुनार अति अराजक र आपराधिक पृष्ठभूमिका पात्र देखिन्छन् । तिनै पात्रलाई अन्तरिम सरकारको मन्त्री बनाउने तयारी भएको छ ।

सुनार दैलेखबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् ।