काठमाडौं, कात्तिक ९। थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान सुरु गरेको छ। केही महिनादेखि रोकिएको उडान सेवा आज आइतबारबाट नियमित रूपमा सञ्चालनमा आएको हो।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियाले बैङ्कक–भैरहवा–बैङ्कककाे सातामा दुईपटक उडान गर्नेछ। आइतबार र बुधबारका लागि नियमित तालिका स्वीकृत गरिएको तिवारीले जानकारी दिनुभयाे ।
हालका लागि भैरहवा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनी थाई एयर एसिया मात्रै बनेको छ। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अझै नियमित उडान सञ्चालन गर्न सकेका छैनन्।
थाई एयर एसियाको विमान आज बिहान बैङ्ककबाट उडेर भैरहवामा अवतरण गर्ने क्रममा रहेको र अवतरणपछि पुनः बैङ्कक फर्किने तालिका तय गरिएको विमानस्थल स्रोतले जनाएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले २०२२ मे महिनाबाट अन्तर्राष्ट्रिय उडानको थालनी गरेको भए पनि पछिल्लो समय नियमितता कायम राख्न कठिनाइ हुँदै आएको छ। थाई एयर एसियाको पुनः उडानले विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय गतिविधि सुरु भएको प्रतीक मानिएको छ।













प्रतिक्रिया दिनुहोस्