जनता टाइम्स

९ कार्तिक २०८२, आईतवार २२:११

एमाले केन्द्रीय कमिटी बैठकको १३० पृष्ठ लामो बहस नोट प्रतिवेदन अध्यक्ष ओलीसमक्ष पेश


काठमाडौं, कात्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं केन्द्रीय कमिटी बैठक (२०८२ असोज २९, ३० र ३१ गते सम्पन्न) का क्रममा भएका बहसहरूको विस्तृत प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष पेश गरिएको छ।

पार्टी पोलिटब्युरो सदस्य तथा बहस नोट कमिटीका संयोजक सूर्य थापाका अनुसार, १ सय ३० पृष्ठ लामो प्रतिवेदनमा बैठकमा बोल्ने ३ सय २८ जना केन्द्रीय सदस्यहरूको धारणा समेटिएको छ। ‘दशौँ केन्द्रीय कमिटी बैठकमा उठाइएका सुझाव, आलोचना, समीक्षा र संगठनात्मक दृष्टिकोणहरूलाई व्यवस्थित गरी प्रतिवेदनका रूपमा आज अध्यक्ष कमरेड ओलीसमक्ष प्रस्तुत गरेका छौ’, थापाले भन्नुभयाे ।

उक्त प्रतिवेदन तयार पार्ने बहस नोट कमिटीमा संयोजक सूर्य थापा, सदस्यहरू विष्णु रिजाल र निरज आचार्य रहनु भएकाे थियाे । समितिले बैठकमा प्रस्तुत धारणा, विषयगत समूहगत छलफल र नीतिगत टिप्पणीहरूलाई समेटेर प्रतिवेदन तयार गरेको बताइएको छ।

थापाका अनुसार, प्रतिवेदनमा पार्टीको नीतिगत स्पष्टता, संगठन विस्तार, नेतृत्व अभ्यास, आन्दोलन र जनसंपर्क रणनीति लगायतका विषयमा केन्द्रीय सदस्यहरूले दिएका विचार समावेश छन्। ‘पार्टीका केन्द्रीय सदस्यहरूबाट आएका दृष्टिकोणहरू गम्भीर, रचनात्मक र आत्मसमीक्षात्मक रहेका बताउँदै सबै धारणा निष्पक्ष रूपमा संकलन गरी आगामी कार्यदिशा तय गर्न उपयोगी हुनेगरी प्रतिवेदन तयार गरेकाे उहाँले जाकारी दिनुभयाे ।

एमालेले गत असोज २९ देखि ३१ गतेसम्म केन्द्रीय कमिटी बैठक सम्पन्न गरेको थियो। सो बैठकमा अध्यक्ष ओलीले आगामी विधान महासभाको तयारी, पार्टी एकता सुदृढीकरण र राष्ट्रिय राजनीति सम्बन्धी दिशा तय गर्ने एजेन्डा प्रस्तुत गर्नुभएको थियो।

प्रतिवेदन अध्यक्ष ओलीले अध्ययन गरी आवश्यक निर्देशन दिने तयारी भएको एमाले केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। पार्टीले आगामी कार्ययोजना तय गर्दा यही प्रतिवेदनलाई आधारका रूपमा उपयोग गर्ने बताइएकाे छ ।