जनता टाइम्स

१० कार्तिक २०८२, सोमबार १४:२४

सिन्धुली कारागार तोडेर भागे ४७१ मध्ये १४३  कैदी/थुनुवा अझै फरार


सिन्धुली, कात्तिक १०।जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते सिन्धुली कारागार तोडेर भागेका ४ सय ७१ जना कैदी र थुनुवा मध्ये १ सय ४३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार कारागारबाट भागेकामध्ये हालसम्म १ सय २९ जना कैदी तथा थुनुवा आफैँ कारागारमा फर्किएका छन् । साथै, १ सय ९९ जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहतका प्रहरी इकाइहरूले पक्राउ गरी पुनः कारागारमा पठाएको जानकारी उहाँले दिनुभयो ।

उहाँका अनुसार, सो क्रममा सिन्धुली प्रहरीले अन्य विभिन्न जिल्ला कारागारहरूबाट समेत भागेका २३ जना कैदी तथा थुनुवालाई पक्राउ गर्न सफल भएको छ । तीमध्ये जगन्नाथदेवल कारागारका १२ जना, नख्खुका ४ जना, झुम्काका ३ जना, जलेश्वरका २ जना, भीमफेदीका १ जना र भक्तपुर बाल सुधार गृहका १ जना रहेका छन् ।

डीएसपी सुवेदीले फरार कैदी र थुनुवाहरूको खोजीकार्य निरन्तर रूपमा भइरहेको बताउनुभयो । ‘फरार रहेका सबैलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रहरीको प्रयास जारी छ,’ उहाँले भन्नुभयो ।

फरारको खोजीका लागि सिन्धुली प्रहरीले अन्य जिल्लाका प्रहरी कार्यालयहरूसँग पनि समन्वय गरेर विशेष टोली परिचालन गरेको छ ।